images
images
  • २१ हजारको ल्युब आयल किन्दा १० लाखको उपहार, पर्साका लालबाबु बने विजेता

    काठमाडौं – पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका छन् ।

    आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार साहले जितेका हुन् । विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेताको घोषणा गरेको हो ।

    प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेताको घोषणा गरेका थिए ।

    विभागका अनुसार साहले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा बिलसहित गरेको कारोबार उपहारका लागि छनोट भएको हो। बम्पर उपहार विजेता घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले साहलाई टेलिफोनमार्फत बधाई दिँदै पुरस्कार लिन नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

    असोज १ देखि १५ गतेसम्मको अवधिमा करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार योग्य भएका थिए। विभागले बिल लिएर गरिएका उपभोक्ताका कारोबारलाई कार्यक्रममा समावेश गरेको थियो ।

    त्यसमध्ये नगद भुक्तानी गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ कारोबार उपहारका लागि योग्य भएका थिए। अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार कार्यक्रममा समावेश भएका थिए ।

    विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने, कर प्रणालीमा सहभागिता बढाउने र कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    कार्यक्रमअन्तर्गत बम्पर उपहारसँगै दैनिक रूपमा पनि विजेता छनोट हुँदै आएका छन् । असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको विभागले जनाएको छ ।

    विभागका अनुसार उपभोक्ताले खरिद गर्दा बिल लिने र कारोबारलाई उपहार कार्यक्रममा सहभागी गराउँदा पुरस्कार जित्ने अवसरसँगै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन योगदान पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images