काठमाडौं – दसैँसहितका चाडपर्वमा यात्रुको चाप बढ्ने भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुलाई सुरक्षित यात्रा गराउने तथा टिकटमा हुने ठगी, बढी भाडा असुली र अन्य समस्या तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
नवनिर्मित सहायता कक्षको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरे। उनले चाडपर्वका बेला सामान्य समयभन्दा यात्रुको संख्या बढ्ने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनु सबैको जिम्मेवारी भएको बताए ।
राठौरले क्षणिक स्वार्थका लागि यात्रुलाई ठग्ने, लुट्ने वा झुक्याउने कार्य गरे कारबाही गरिने चेतावनी दिए । उनले यात्रुलाई पनि यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरे ।
सवारी सञ्चालनका क्रममा मादक पदार्थ तथा लागुऔषध सेवन नगर्न चालकलाई आग्रह गर्दै उनले टिकटमा हुने कालोबजारी नियन्त्रणमा प्रहरी चनाखो रहने बताए । यात्रुले अनिवार्य रूपमा टिकट लिएर मात्रै यात्रा गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा विगतको तुलनामा थप चुनौती देखिएको बताए । देशभर भएको अविरल वर्षाका कारण अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको उनले जानकारी दिए ।
उनले कठिन परिस्थितिमा पनि सुरक्षित रूपमा सवारी सञ्चालन गरिरहेका चालकलाई धन्यवाद दिँदै अवरुद्ध तथा क्षतिग्रस्त सडकको तत्काल मर्मतसम्भार गर्न सरकारसँग आग्रह ग रे।
सिटौलाले चाडपर्वमा कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई प्राथमिकता दिनुपर्ने तथा सरकारले तोकेकोभन्दा बढी भाडा नलिन व्यवसायीलाई आग्रह गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वका समयमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनका अनुसार चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको समयमा दुर्घटना न्यूनीकरण गर्न चालकको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक तथा महानगर प्रहरीको सहभागिता थियो ।


विश्व खबर 



















