काठमाडौं – माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र छिटो बैंकिङ जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ ।
बैंकको आधिकारिक वेबसाइटमा ‘माया’को छुट्टै संकेत राखिएको छ। ग्राहकले उक्त संकेतमा गएर आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन् ।
ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएको ‘माया’ अन्तरक्रियात्मक डिजिटल माध्यम हो। सामान्य बैंकिङ जानकारी लिन शाखामा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने अवस्थालाई कम गर्दै आवश्यक जानकारी डिजिटल माध्यमबाटै उपलब्ध गराउने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
‘माया’मार्फत ग्राहकले नियमित बैंकिङ सेवासँग सम्बन्धित जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट बैंकिङ सेवामा प्रविधिको प्रयोग बढाउँदै ग्राहकको समय बचत गर्ने तथा सेवा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने बैंकको अपेक्षा छ ।
बैंकले ‘माया’को सुरुवातसँगै प्रविधिको प्रभावकारी प्रयोगमार्फत दक्ष र ग्राहकअनुकूल बैंकिङ अनुभव प्रदान गर्ने आफ्नो स्मार्ट बैंकिङको अवधारणालाई थप बल पुग्ने जनाएको छ ।
बैंकका अनुसार च्याटबोटको क्षमता र कार्यसम्पादनलाई ग्राहकका आवश्यकताअनुसार निरन्तर सुधार तथा परिष्कृत गरिँदै जानेछ । ग्राहकबाट प्राप्त सुझाव र प्रयोगका अनुभवका आधारमा यसको शुद्धता, सान्दर्भिकता तथा उपयोगिता थप बढाइने बैंकले जनाएको छ ।


विश्व खबर 



















