काठमाडौं – एनआईसी एसिया बैंकको विद्युतीय वाणिज्य भुक्तानी प्रवेशद्वारमार्फत अब एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार हुने भएको छ । बैंकले नेपालमै पहिलोपटक यी दुवै माध्यमबाट भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार विद्युतीय वाणिज्य भुक्तानी प्रवेशद्वारमा आबद्ध तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकले विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्ना विद्युतीय वाणिज्य सेवामार्फत सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् ।
एप्पल पे र गुगल पे मोबाइलमा आधारित विश्वव्यापी भुक्तानी माध्यम हुन् । यी माध्यमबाट ग्राहकले भौतिक कार्ड प्रयोग नगरी आफ्नो कार्ड विवरण सुरक्षित रूपमा मोबाइलमा राखेर भुक्तानी गर्न सक्नेछन् । कार्ड विवरणलाई सुरक्षित रूपमा विद्युतीय स्वरूपमा रूपान्तरण गरी भुक्तानी गरिने भएकाले कारोबारलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ ।
यो सुविधा विशेषगरी होटल, पर्यटन तथा यात्रासम्बन्धी व्यवसाय, हस्तकला, वायुसेवा, विद्युतीय वाणिज्य र सूचना प्रविधि क्षेत्रका व्यवसायका लागि उपयोगी हुने बैंकले जनाएको छ । बैंकको विद्युतीय वाणिज्य भुक्तानी प्रवेशद्वारमा आबद्ध व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे तथा गुगल पेमार्फत भुक्तानी लिन सक्नेछन् ।
बैंकका अनुसार नयाँ सेवाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित भुक्तानी अनुभव उपलब्ध गराउन सहयोग गर्नेछ । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, विद्युतीय वाणिज्य, सूचना प्रविधि तथा सामान निर्यात गर्ने व्यवसायले विदेशी ग्राहकबाट भुक्तानी लिन सहज हुने अपेक्षा गरिएको छ ।
बैंकले यो सेवाले अन्तरदेशीय व्यापार विस्तार तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ । नेपालमा पहिलोपटक सुरु गरिएको उक्त सेवाले भुक्तानी प्रक्रियालाई सहज, सरल र सुरक्षित बनाउँदै पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकको भनाइ छ ।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलले नयाँ सेवाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्न थप सहज वातावरण सिर्जना गर्ने बताए ।


विश्व खबर 



















