काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको तलब, बैठक भत्ता र अन्य सुविधामा करिब ३ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार उक्त आर्थिक वर्षमा उनीहरूको तलब, भत्ता तथा अन्य सुविधाबापत कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ । सो अवधिमा गभर्नर र तीन जना डेपुटी गभर्नरको तलबमा मात्रै ४८ लाख ९६ हजार १०० रुपैयाँ खर्च भएको छ। गभर्नर विश्वनाथ पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार ५८० रुपैयाँ तथा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले समान ९ लाख ४९ हजार २६० रुपैयाँ तलब बुझेका छन् ।
तलबबाहेक बोर्ड बैठकमा सहभागिताबापत पनि उनीहरूले छुट्टै रकम प्राप्त गरेका छन् । यस शीर्षकमा गभर्नर पौडेलले ५ लाख ६७ हजार रुपैयाँ, सञ्चालकसमेत रहेका अर्थसचिव डा. घनश्याम उपाध्यायले ५ लाख ४० हजार रुपैयाँ, डेपुटी गभर्नर पण्डितले २ लाख २५ हजार, तिम्सिनाले २ लाख ३४ हजार र मिश्रले २ लाख ७० हजार रुपैयाँ बैठक भत्ताबापत बुझेका छन् ।
राष्ट्र बैंकको विवरणअनुसार अन्य भत्ता तथा सुविधातर्फको रकम पनि उल्लेख्य छ। गभर्नर पौडेलले यस शीर्षकमा २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गर्दा अर्थसचिव उपाध्यायले ३ लाख ४८ हजार १२० रुपैयाँ बुझेका छन् । डेपुटी गभर्नर पण्डितले ४६ लाख ८ हजार ४१५ रुपैयाँ, तिम्सिनाले ४२ लाख ३५ हजार ७११ रुपैयाँ र मिश्रले ३८ लाख ९७ हजार ५११ रुपैयाँ अन्य भत्ता तथा सुविधाबापत प्राप्त गरेका छन् ।
त्यस्तै, सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार र अन्य भत्ता तथा सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ बुझेका छन्। अर्का सञ्चालक डा। शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी, सञ्चालक डा. रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार तथा अन्य भत्ता र सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।






















