images
images
  • बैंकिङ कसूरदेखि अनलाइन ठगीसम्मका अपराध नियन्त्रण कसरी गर्ने ? के भन्छन् आईजीपी मनोज कुमार केसी ?

    काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो प्रयोगलाई सम्बोधन गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति आवश्यक रहेको बताएका छन् ।

    अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच समन्वय तथा सूचनाको आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

    वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।

    प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदान–प्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग र अनुसन्धान तथा अभियोजन बीचको समन्वयलाई संस्थागत बनाउनुपर्ने बताउँदै महानिरीक्षक केसीले सीमापार वित्तीय कारोबार र अपराध सञ्जालको हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

    अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अपराध अनुसन्धान विभागको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षमता विकास, जटिल र संवेदनशील अपराधको अनुसन्धानको मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढिकरण र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गरे ।

    प्रहरी महानिरीक्षक केसीले वर्तमान अवस्थामा अपराधको स्वरूप, अपराधीको कार्यशैली र अपराधको सञ्जाल तीव्र रूपमा परिवर्तन भइरहेको, प्रविधिको विकासले अपराध गर्ने तरिका परिवर्तन भइरहेको एवम् विशेष गरी बैंकिङ कसूर, वित्तीय ठगी, सहकारी तथा लगानी सम्बन्धी अनियमितता, अनलाईन मार्फत हुने आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय कारोबारको बढ्दो जटिल स्वरूपले अपराध अनुसन्धानमा नयाँ चुनौती सामना गर्नुपर्ने बताए । वित्तीय अपराधको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक अनुसन्धान प्रणालीतर्फ रूपान्तरण गर्दै नवीनतम् प्रविधिको प्रयोग, डिजिटल फोरेन्सिक क्षमताको अभिवृद्धि, विशेषज्ञ जनशक्तिको विकास र आवश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो ।

    अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउँदै कुनै पनि दबाब र प्रभावबाट मुक्त रहि कानुनबमोजिम उत्कृष्ट कार्यसम्पादन गर्न समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले आवश्यक निर्देशन दिएका छन् ।

    ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालामा वित्तीय अपराधको प्रमाण सङ्कलनदेखि न्यायिक फैसलासम्मका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता दिनेश प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाई (मैनाली) ले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरी अधिकारी, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरू सहभागी थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत विमोचन गरेका थिए ।

    विमोचित पुस्तक विगतको अनुसन्धानको अनुभव, चुनौती, सिकाई र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास रहेको उल्लेख गर्दै यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताको लागि सिकाईको स्रोत बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा लिएको महानिरीक्षक केसीको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images