images
images
  • सशस्त्र प्रहरीलाई ‘उच्च अपरेशनल रेडीनेस’ मा रहन आईजीपी पौडेलको निर्देशन

    काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा सम्भावित सुरक्षा चुनौती सामना गर्न मातहतका सबै युनिटलाई उच्च ‘अपरेसनल’ तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    जुनसुकै समयमा हुनसक्ने आन्दोलन, विरोध प्रदर्शन तथा अन्य सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पूर्वतयारी र सुरक्षा सतर्कता बढाउन मातहतका बाहिनी, गण, गुल्म तथा बेस तहका कमान्डरहरूलाई उनले निर्देशन दिएका हुन् ।

    बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको कार्य विभागद्वारा आयोजित भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै आईजीपी पौडेलले राष्ट्रिय सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह र संस्थागत जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न स्पष्ट निर्देशन दिएका हुन् । उनले भीड नियन्त्रणका क्रममा अनावश्यक बल प्रयोग नगर्न सचेत गराउँदै कानुनसम्मत, समानुपातिक, जवाफदेही र आवश्यकताका आधारमा मात्रै चरणबद्ध रूपमा बल प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

    सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले दुई दशकभन्दा बढीको अनुभव हासिल गरिसकेको र त्यसलाई ठोस परिणाममा रूपान्तरण गर्न संगठनको क्षमता अभिवृद्धि र कार्यक्षमता थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलको भएको उल्लेख गर्दै उनले सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि तत्काल प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए । त्यसका लागि समकक्षी सुरक्षा निकायसँगको सम्बन्ध विस्तार तथा प्रणालीगत सूचना संकलन संयन्त्रलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

    आईजीपी पौडेलले कमान्डरहरूको नेतृत्व अधिकारका आधारमा मात्रै नभई उत्तरदायित्व र नैतिक आचरणका आधारमा मूल्यांकन हुने स्पष्ट पारे । आफ्नो निर्णय र मातहतका कर्मचारीको कार्यसम्पादनको पूर्ण जिम्मेवारी लिँदै दबाबका अवस्थामा समेत परिपक्व निर्णय गर्न उनले कमान्डरहरूलाई निर्देशन दिए ।

    संगठनभित्र भ्रष्टाचार, अनियमितता, दुराचार र अनुशासनहीनताविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिएको उनले बताए । संगठनको प्रतिष्ठा प्रत्येक राष्ट्रसेवकको आचरणसँग जोडिने भएकाले औपचारिकतामा सीमित नभई परिणाममुखी कार्यसंस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । नागरिकको विश्वास र सम्मान हासिल गर्न सुशासन, जवाफदेहिता तथा कानुनसम्मत सेवा प्रवाहलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

    मनसुनजन्य विपद् प्रतिकार्य, वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गर्दै आयोजना गरिएको सम्मेलनले संगठनको भावी परिचालन तथा योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    सम्मेलनमा सबै तहका कमान्डरहरूले सुरक्षा व्यवस्थालाई चुस्त, सुदृढ र परिणाममुखी बनाउँदै सुशासन तथा जवाफदेहितालाई प्राथमिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो । सोही अवसरमा आईजीपी पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्यसञ्चालन केन्द्रको समेत उद्घाटन गरेका थिए ।

    सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेललगायत सबै प्रदेशका बाहिनीपति तथा वरिष्ठ र कनिष्ठ अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images