images
images
  • थप घट्यो बैंकमा मुद्दतीतर्फको ब्याजदर, औसत ब्याजदर ४ प्रतिशत तल

    काठमाडौं । नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनाको तुलनामा मंसिरमा ६ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम वार्षिक ब्याजदर घटाएका छन् भने बाँकी १४ वटा बैंकहरूले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

    बैंकहरूले ब्याजदर समायोजन गरेसँगै वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर कात्तिकको ४.०२ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर मंसिरमा ३.९१ प्रतिशत कायम भएको छ ।

    संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदरमा सामान्य गिरावट आएको छ । कात्तिक महिनामा औसत ३ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा ०.०१ प्रतिशत विन्दुले घटेर २.९९ प्रतिशतमा झरेको छ ।

    संस्थागततर्फ केवल एनएमबि बैंकले मात्र आफ्नो ब्याजदर कात्तिकको ३.५० प्रतिशतबाट ०.२५ प्रतिशत विन्दु घटाएर ३.२५ प्रतिशत तोकेको छ भने बाँकी १९ वटा बैंकहरूले संस्थागत मुद्दतीको दर साविककै कायम राखेका छन् ।

    मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने ६ बैंकहरूमा माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक रहेका छन् । यीमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो १.०० प्रतिशत विन्दुको कटौती गर्दै ब्याजदरलाई ३.५० प्रतिशतमा ल्याएको छ, जुन समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा न्यूनतम दर हो ।

    त्यस्तै कृषि विकास बैंकले ०.६० प्रतिशत विन्दु घटाएर ३.६५ प्रतिशत, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंकले समान ०.२५ प्रतिशत विन्दु घटाएर क्रमशः ३.७५ प्रतिशत र ४.२५ प्रतिशत तोकेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दु घटाएर ३.६५ प्रतिशत तथा कुमारी बैंकले ०.०४ प्रतिशत विन्दुले दर घटाएर ३.६६ प्रतिशत कायम गरेका छन् ।

    व्यक्तिगत मुद्दती निक्षेपतर्फ मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर दिने बैंक सानिमा बैंक बनेको छ, जसले कात्तिककै ४.५० प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । सानिमा बैंकपछि नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकले समान ४.२५ प्रतिशतका दरले व्यक्तिगत मुद्दतीमा ब्याजदर उपलब्ध गराउनेछन् ।

    यसैगरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले कात्तिक महिनाकै ४.०० प्रतिशत ब्याजदरलाई मंसिरमा पनि यथावत् राखेका छन् ।

    अन्य बैंकहरूको अवस्था हेर्दा सिटिजन्स बैंक इन्टरनेसनलले ३.८५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.८० प्रतिशत र सिद्धार्थ बैंकले ३.७६ प्रतिशतमा ब्याजदर स्थिर राखेका छन् । त्यसैगरी एभरेस्ट बैंक र नबिल बैंकले समान ३.७५ प्रतिशतमा आफ्नो ब्याजदर निरन्तरता दिएका छन् ।

    संस्थागत मुद्दती निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत र नेपाल बैंकले ३.५० प्रतिशत ब्याजदर प्रदान गर्दा प्रभु, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई, सिटिजन्स, नबिल, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक गरी ९ बैंकहरूले न्यूनतम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images