काठमाडौं – खाना पकाउने ग्यासको आपूर्ति कहिले सहज हुन्छ भन्ने अनिश्चितताले नेपाली भान्सामा विकल्प खोज्ने क्रम तीव्र भएको छ । पछिल्ला महिनामा पटक–पटक ग्यास अभाव भएपछि उपभोक्ता इन्डक्सन, इन्फ्रारेड र अन्य विद्युतीय उपकरणतर्फ सर्न थालेका छन्। यसको प्रत्यक्ष असर बजारमा देखिएको छ—विद्युतीय चुलोको मागसँगै आयात र मूल्य दुवै बढेका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउन र भदौमा १९ हजार ५०८ थान इन्डक्सन चुलो नेपाल भित्रिएका छन् । ती चुलोको आयात मूल्य ४ करोड ३७ लाख ८० हजार रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा ११ हजार ६६३ थान मात्रै इन्डक्सन आयात भएको थियो ।
इन्डक्सनभन्दा इन्फ्रारेड चुलोको माग झनै तीव्र देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४१ हजार २२९ थान इन्फ्रारेड चुलो आयात भएको छ, जसको मूल्य ८ करोड ७५ लाख ३७ हजार रुपैयाँ हो । अघिल्लो वर्ष साउन–भदौमा १३ हजार ५६७ थान मात्रै आयात भएको थियो ।
अर्थात्, एक वर्षको अवधिमा इन्डक्सनको आयात उल्लेख्य बढ्दा इन्फ्रारेड चुलोको आयात तीन गुणाभन्दा बढी पुगेको छ ।
यो परिवर्तनलाई व्यवसायीहरूले ग्यासको आपूर्ति अनिश्चिततासँग जोडेर हेरेका छन् । इन्फ्रारेड चुलो आयातकर्ता अर्किड इलेक्ट्रिकल्सका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद कँडेलका अनुसार केही समयअघिसम्म बजारको माग सानो भएकाले अन्य विद्युतीय सामानसँगै थोरै परिमाणमा चुलो ल्याइन्थ्यो । अहिले माग बढेपछि ठूलो परिमाणमा छुट्टै आयात गर्नुपर्ने अवस्था आएको छ ।
“पहिला अन्य सामानसँग मिलाएर थोरै–थोरै गरी ५ सय थान ल्याउने गरिन्थ्यो । अहिले बजारको माग बढेकाले एक कन्टेनरमा ६ हजार पिससम्म आयात गर्न थालेका छौँ,” कँडेलले भने ।
माग बढेसँगै विद्युतीय चुलोको मूल्य पनि बढेको छ । कँडेलका अनुसार पछिल्लो समय चुलोको मूल्य करिब १५ देखि २० प्रतिशतसम्म बढेको छ । यसको कारण उत्पादन लागत मात्रै नभई ढुवानी खर्च, डलरको विनिमय दर र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको प्रभाव रहेको व्यवसायीहरूको भनाइ छ ।
विद्युतीय भान्साको विस्तार चुलोमा मात्रै सीमित छैन । राइस कुकरको आयात पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ६ करोड ६२ लाख रुपैयाँ बराबरका ४७ हजार ४०० थान राइस कुकर आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९० लाख रुपैयाँ बराबरका करिब ७३ हजार थान आयात भएका छन् ।
बजारमा अहिले एकमुखे, दुईमुखे तथा इन्डक्सन र इन्फ्रारेड दुवै सुविधा भएका चुलो उपलब्ध छन् । व्यवसायीका अनुसार इन्डक्सनका लागि विशेष प्रकारको चुम्बकीय भाँडा चाहिने भएकाले कतिपय उपभोक्ताले इन्फ्रारेडलाई सहज विकल्पका रूपमा रोज्ने गरेका छन् । इन्फ्रारेडमा घरमै प्रयोग भइरहेका विभिन्न प्रकारका भाँडा चलाउन सकिन्छ ।
सरकारले पनि विद्युतीय चुलोलाई स्वच्छ खाना पकाउने प्रविधिका रूपमा प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा सरकारले इन्डक्सनलगायत विद्युतीय चुलोको आयातमा लाग्दै आएको १ प्रतिशत भन्सार महसुल हटाएको छ । सरकारले २ लाख ५० हजार घरधुरीमा विद्युतीय तथा सुधारिएको चुलो विस्तार गर्ने लक्ष्यसमेत लिएको छ ।
तर, यही समयमा विद्युत् खपत व्यवस्थापन अर्को चुनौतीका रूपमा देखिएको छ । विद्युतीय चुलोको प्रयोग बढाउन प्रोत्साहन गरिरहेको सरकारले विद्युत् बचत गर्नसमेत उपभोक्तालाई आग्रह गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले उच्च विद्युत् खपत गर्ने उपकरणको प्रयोग सीमित गर्न र ऊर्जा–दक्ष उपकरण प्रयोग गर्न आग्रह गरेको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि विद्युत्को माग बढिरहेको र पुरानो वितरण संरचनामा त्यसको दबाब परेको बताएका छन् । एसी, विद्युतीय सवारी चार्जिङलगायत उपकरणको प्रयोग बढिरहेका कारण सरकारले वितरण प्रणाली स्तरोन्नतिलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
यसरी ग्यासको आपूर्ति अनिश्चित हुँदा उपभोक्ता विद्युतीय चुलोतर्फ सर्न थालेका छन् । तर विद्युतीय चुलोको प्रयोग व्यापक बन्दै जाँदा त्यसले विद्युत् वितरण प्रणाली र खपत व्यवस्थापनमा नयाँ दबाबसमेत सिर्जना गर्ने देखिन्छ ।


विश्व खबर 


















