images
images
  • दसैँ नजिकिँदै, मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल

    काठमाडौं –दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान जोमसोम आइपुगेका छन् भने उपल्लो मुस्ताङबाट पनि शनिबारसम्म च्याङ्ग्रा आइपुग्ने बताइएको छ ।

    डोल्पाका व्यापारी शेरबहादुर रोकायाका अनुसार आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर उनी शनिबार साँझ जोमसोम आइपुगेका हुन्। डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका रोकाया असोज १७ गते साँझ जोमसोम पुगेका हुन् । डोल्पाबाट जोमसोम आउन उनलाई एक साताभन्दा बढी समय लागेको थियो ।

    रोकायाले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको बताउँदै यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा ल्याएको जानकारी दिए । हाल ती भेडाच्याङ्ग्रा जोमसोमस्थित घरपझोङ गाउँपालिकाको सार्वजनिक मैदानमा राखिएका छन् ।

    उनका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो। भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा निकै कठिन भएको उनले बताए ।

    रोकायाले माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएका हुन्। नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनले बताए ।

    यस वर्ष डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको रोकायाले जानकारी दिए। गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको उनको भनाइ छ ।

    रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन्। गत वर्ष डोल्पाबाट ११ हजारभन्दा बढी च्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो ।

    बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भए च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताए। उनले दसैँपछि डोल्पा फर्कने बाटोसमेत सरकारले समयमै सहज बनाइदिनुपर्ने माग गरेका छन्।

    “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ। दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो,” रोकायाले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images