काठमाडौं- दसैं नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएको छ ।
खुद्रा पसलमा प्रतिकिलो ११० रुपैयाँमा चिनी पाइने सूचना टाँसिए पनि अधिकांश पसलमा चिनी नभएको व्यापारीहरूले बताएका छन् ।
कतिपय पसलमा भने १४० देखि १५० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ ।
व्यापारीहरूका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले ५–१० दिनदेखि चिनी उपलब्ध गराएको छैन ।
साल्ट ट्रेडिङले भने पर्याप्त चिनी मौज्दात रहेको र नियमित वितरण भइरहेको दाबी गरेको छ ।
तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा साल्ट ट्रेडिङले चिनीको खरिद, बिक्री र मौज्दातको स्टक लेजर देखाउन नसकेपछि ३ लाख रुपैयाँ जरिबाना गरिएको छ ।
साल्ट ट्रेडिङका सूचना अधिकारी मोहन थापाले नेपालभर ११ हजार ९ सय ६ टन चिनी मौज्दात रहेको दाबी गरेका छन् ।
तर खुद्रा तथा थोक व्यापारीले चिनी नपाएको गुनासो गरिरहेका छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सरकारकै कमजोरीका कारण चिनीको आपूर्ति सहज हुन नसकेको आरोप लगाएका छन् ।
उनका अनुसार समयमै निजी क्षेत्रलाई आयातको अनुमति नदिँदा अहिले बजारमा अभाव र मूल्यवृद्धि देखिएको हो ।
दसैंको मुखमा सरकारी संस्थाले पर्याप्त मौज्दात रहेको दाबी गर्नु तर बजारमा चिनी नपाइनुले सरकारी आपूर्ति प्रणालीप्रति प्रश्न उठेको छ ।
सरकारले तत्काल आपूर्ति सहज गरी तोकिएको मूल्यमा चिनी उपलब्ध गराउनुपर्ने देखिन्छ ।


विश्व खबर 


















