images
images
  • राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्दै

    काठमाडौं – बजारमा साना दरका सिक्का तथा खुद्रा मुद्राको अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का टकमरी तथा आपूर्तिको प्रक्रिया अघि बढाएको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार पूर्वयोग्यता प्राप्त अन्तर्राष्ट्रिय सुरक्षा टकमरी कम्पनीबाट शिलबन्दी बोलपत्र आह्वान गरेको हो । यसअघि आइतबार मात्रै केन्द्रीय बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

    लगातार दुई दिनमा राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका गरी कुल ७० करोड थान सिक्का टकमरी गर्ने प्रक्रिया अघि बढाएको हो । साना दरका सिक्काको मौज्दात व्यवस्थापन तथा बजारमा सहज आपूर्ति कायम गर्ने उद्देश्यले नयाँ सिक्का ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    २ रुपैयाँ दरका सिक्काको बोलपत्र ‘एकल चरण, दुई खाम’ विधिबाट हुनेछ । बोलपत्रमा सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ ।

    इच्छुक कम्पनीले आगामी ३ नोभेम्बर २०२६ सम्म २० हजार रुपैयाँ गैरफिर्ता हुने दस्तुर बुझाएर बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । बोलपत्रमा सहभागी कम्पनीका लागि १६ अक्टोबर २०२६ मा मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा पूर्वबोलपत्र बैठक आयोजना गरिनेछ ।

    कम्पनीहरूले ४ नोभेम्बर २०२६ को दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।

    बोलपत्रमा सहभागी हुन कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानत राख्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्रको मान्यता अवधि खोलिएको मितिदेखि १२० दिनको हुनेछ भने जमानत रकम ३ अप्रिल २०२७ सम्म मान्य हुनुपर्नेछ ।

    पछिल्लो समय साना दरका नोट तथा सिक्काको प्रयोग र उपलब्धतासँग सम्बन्धित समस्या देखिँदै आएपछि राष्ट्र बैंकले नयाँ सिक्का बजारमा पठाउने तयारी गरेको हो । १ र २ रुपैयाँका सिक्का ठूलो परिमाणमा टकमरी भएपछि बजारमा खुद्रा कारोबारका लागि आवश्यक साना दरका मुद्रा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images