images
images
  • मनाङ–मनास्लुका पर्यटक एबिसीतिर, सडक खुलेपछि बढ्यो चहलपहल

    काठमाडौं – बाढीपहिरोले अन्य हिमाली पदयात्रा मार्ग प्रभावित बनाएपछि अन्नपूर्ण आधार शिविर (एबिसी) अहिले पर्यटकको वैकल्पिक गन्तव्य बन्न थालेको छ । अन्नपूर्ण क्षेत्रमा अवरुद्ध सडक र पदमार्ग सञ्चालनमा आएपछि पछिल्ला दिनमा एबिसी जाने विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

    छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । यसमा विदेशी तथा सार्क राष्ट्रका पर्यटकको सङ्ख्या बढी छ । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु र मनाङ तथा मनास्लु क्षेत्रका कतिपय पदमार्ग अझै प्रभावित रहनुले पनि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको उनले बताए ।

    “मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण दक्षिण एसियाली मुलुकका पर्यटकको रोजाइ एबिसीतर्फ बढेको हो,” गुरुङले भने ।

    केही समयअघिसम्म भने अवस्था फरक थियो । वर्षा र बाढीपहिरोले अन्नपूर्ण क्षेत्रका सडक तथा पदमार्ग अवरुद्ध भएपछि होटल व्यवसायदेखि पदयात्रासम्म प्रभावित भएको थियो । बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले सडक लामो समय बन्द भएको थियो । गाउँपालिकाले करिब डेढ महिनाको प्रयासपछि असोजको पहिलो साता सडक सञ्चालनमा ल्याएपछि एबिसी जाने बाटो सहज भएको हो ।

    अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरादेखि घान्द्रुक हुँदै एबिसीसम्मको सडक अहिले सञ्चालनमा छ । कतिपय स्थानमा स्थायी सडक मर्मत हुन नसके पनि अस्थायी व्यवस्था गरेर पदमार्ग खुलाइएको छ ।

    “बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । नयाँपुल, घान्द्रुक, छोम्रोङ सबै ठाउँबाट आउन सकिन्छ,” उनले भने ।

    किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएपछि करिब दुई महिनादेखि अवरुद्ध पदमार्गसमेत काठे फड्के निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । यसले पदयात्रीलाई एबिसीतर्फ पुग्न थप सहज बनाएको छ ।

    होटल भरिन थाले, नेपाली पर्यटकको प्रतीक्षा

    पर्यटकको आगमन बढेसँगै छोम्रोङदेखि एबिसीसम्मका पर्यटन व्यवसायीमा पनि उत्साह देखिएको छ । एबिसीमा पर्यटकलाई राख्न सक्ने ६ वटा होटल तथा लज छन्, जसमा एकपटकमा करिब ३५० जनासम्मलाई राख्न सकिने क्षमता छ।

    अहिले विदेशी र सार्क मुलुकका पर्यटकको आगमन बढे पनि नेपाली पर्यटकको उपस्थिति भने न्यून छ । दसैँ सुरु भएपछि स्वदेशी पर्यटकको आगमन बढ्ने व्यवसायीको अपेक्षा छ ।

    पर्यटक बढ्दा स्वास्थ्य सुरक्षाको चुनौती पनि

    समुद्री सतहबाट करिब ४ हजार १३० मिटर उचाइमा रहेको एबिसीमा पर्यटकको सङ्ख्या बढेसँगै उच्च उचाइमा देखिने स्वास्थ्य समस्याको जोखिम पनि उत्तिकै छ । विगतमा लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्याका कारण पर्यटक बिरामी पर्ने र ज्यानसमेत जाने गरेका घटना छन् ।

    यही जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प पुग्ने पर्यटक र स्थानीयलाई सामान्य तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको नजिकबाट दृश्यावलोकन गर्न पाइने, गुरुङ संस्कृति तथा हिमाली जीवनशैली अनुभव गर्न सकिने भएकाले एबिसी नेपालको प्रमुख पदयात्रा गन्तव्यमा पर्छ । यसपटक भने प्राकृतिक विपत्तिले अन्य पदयात्रा मार्ग प्रभावित बनाउँदा एबिसीले त्यसको उल्टो प्रभाव पाएको छ–अवरुद्ध गन्तव्यबाट पर्यटक हटेर बाटो खुलेको एबिसीतर्फ फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images