images
images
  • केन्द्रीय सदस्यको उम्मेदवार बन्न ११ हजार शुल्क, सभापतिका लागि कति ?

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार शुल्क तोकिएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन दस्तुर सार्वजनिक गर्दै सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क निर्धारण गरेको हो ।

    निर्वाचन समितिका अनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, विभिन्न समूहबाट निर्वाचित हुने सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

    मनोनयन दस्तुर नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खातामा जम्मा गरेको भौचर, निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशनअनुसारको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र दरखास्त/मनोनयनपत्रसँग संलग्न गर्नुपर्ने समितिले जनाएको छ ।

    विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्ने उम्मेदवारले नेपाली नागरिकताको फोटोकपीसमेत पेश गर्नुपर्नेछ ।

    निर्वाचन समितिले उम्मेदवारीका लागि आवश्यक प्रस्तावक र समर्थकको संख्यासमेत तोकेको छ । सभापति पदका लागि २५ जना प्रस्तावक र २५ जना समर्थकको नाम, ठेगाना, मतदाता क्रमसंख्या र हस्ताक्षर आवश्यक पर्नेछ ।

    त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक, विभिन्न समूहअन्तर्गत सहमहामन्त्री पदका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि ३ जना प्रस्तावक र ३ जना समर्थक आवश्यक पर्नेछ ।

    उम्मेदवार आफैंले उम्मेदवारी दिन चाहेको पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक वा समर्थक बन्न नपाउने व्यवस्था पनि गरिएको छ ।

    निर्वाचन समितिले प्रचारप्रसारका क्रममा उम्मेदवार वा समर्थकले उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, ब्याज, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, ज्याकेटलगायतका प्रचार सामग्री प्रयोग गर्न नपाउने स्पष्ट गरेको छ ।

    तर, उम्मेदवारले आफ्नो उम्मेदवारी र सम्बन्धका बारेमा सामान्य परिचय तथा जानकारी दिने पर्चा/पम्प्लेट वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । निर्वाचन आचारसंहिताको पालना सबै उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिले अनिवार्य रूपमा गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।

    835844997 2329734857799723 1288649499819915832 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images