images
images
  • म्याग्दीमा बाढीपहिरोको वितण्डा : ५५० घर प्रभावित, सात जनाको मृत्यु

    काठमाडौं – असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा करिब ५५० घरपरिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ । थप ३४२ घर जोखिममा छन् ।

    बाढीपहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एकरएक जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार घर क्षतिको विवरणमा सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका रहेको छ । त्यहाँ ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा छन् ।

    बेनी नगरपालिकामा ३० घर पूर्ण रूपमा क्षतिग्रस्त, १४ घरमा आंशिक क्षति र ४५ घर जोखिममा छन्। मङ्गला गाउँपालिकामा २३ घर पूर्ण, ३२ घर आंशिक क्षतिग्रस्त र ३५ घर जोखिममा छन् ।

    त्यस्तै, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ घर आंशिक क्षतिग्रस्त र ५३ घर जोखिममा छन् । मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घर आंशिक क्षतिग्रस्त र तीन घर जोखिममा छन् । धवलागिरि गाउँपालिकामा चार घर पूर्ण, सात घर आंशिक क्षतिग्रस्त र २३ घर जोखिममा परेको प्रशासनले जनाएको छ ।

    बाढीपहिरोमा ५६ गोठ भत्किएर तथा पुरिएर क्षति पुगेको छ। त्यसक्रममा २० पशुचौपाया मरेका छन् ।

    अन्नपूर्ण गाउँपालिकाका गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका पहिरो प्रभावित ११५ जनालाई उद्धार गरी शिख र घारमा बनाइएका अस्थायी शिविरमा राखिएको छ । सडक यातायात अवरुद्ध भएपछि विस्थापितका लागि बेनीबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरी वितरण गरिएको प्रशासनले जनाएको छ ।

    बाढीपहिरोले मानवीय तथा आवासीय संरचनासँगै जिल्लाको भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। सडक, खानेपानी, नदी नियन्त्रण संरचना, विद्यालय तथा सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि र पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

    जिल्ला प्रशासनका अनुसार क्षतिको प्रारम्भिक विवरण मात्रै संकलन भएको छ। सबै क्षेत्रको विस्तृत विवरण संकलन भएपछि प्रभावित घरपरिवार, क्षतिको परिमाण र पूर्वाधारमा भएको क्षतिको संख्या अझ बढ्न सक्ने प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images