images
images
  • कांग्रेसको १५औँ महाधिवेशन : निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २२ गते मतदान, परिणाम कहिले आउँछ ?

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार निर्वाचन कार्यक्रम तथा कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधि तथा मतदातालाई निर्वाचनसम्बन्धी विवरण जानकारी गराएको हो ।

    निर्वाचन कार्यतालिकाअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन साँझ ५ देखि ६:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र ६:३० देखि ७:३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ । सोही दिन साँझ ७:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    त्यसैगरी असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त/मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवारको पहिलो नामावली सोही दिन दिउँसो ४:३० बजे प्रकाशन हुनेछ भने त्यसपछि दाबी–विरोध तथा जाँचबुझको प्रक्रिया अघि बढाइनेछ । उम्मेदवारको दोस्रो नामावली साँझ ७ बजे प्रकाशन गरिनेछ ।

    असोज २१ गते बिहान ९ बजेदेखि उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली सोही दिन बिहान १० बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि उम्मेदवारलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।

    असोज २२ गते मतदान

    निर्वाचन कार्यक्रमअनुसार असोज २२ गते बिहान ७:३० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने कार्यतालिकामा उल्लेख छ । मतदानका लागि विभिन्न प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदानस्थल तोकिएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

    त्यस्तै खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेश, भ्रातृ एवम् शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितितर्फका मतदाताका लागि व्यवस्था गरिएको छ । प्रज्ञा भवन, कमलादीस्थित मतदान केन्द्र ‘ग’ मा गण्डकी र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ ।

    नेपाली कांग्रेसको आगामी महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि सार्वजनिक गरिएको यो कार्यतालिकाले अब निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको संकेत गरेको छ । 825328581 1127352163286106 8746302537971338696 n 1834289853 974638564958005 5775183076518847845 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images