images
images
  • लकिङ खुल्नुअघि हकप्रदको दाउ, तर घटेन हाइड्रोको सेयर मूल्य

    काठमाडौं – वर्षौँसम्म लगानीकर्तालाई लाभांश दिन नसकेका जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण भने घटेको छैन । सीमित कित्ता सेयर, उच्च मूल्य उतारचढाव र हकप्रद सेयरको सम्भावनाले यस्ता कम्पनीमा लगानीकर्ता तानिने गरेका छन् । यही आकर्षणलाई उपयोग गर्दै कतिपय जलविद्युत् कम्पनीले संस्थापक तथा स्थानीयको सेयरको ‘लकिङ पिरियड’ खुल्नुअघि हकप्रद सेयरको प्रस्ताव अघि सार्ने गरेका छन् ।

    संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयले पाएको सेयरको तीन वर्षे लकिङ अवधि सकिएपछि ठूलो परिमाणमा सेयर बजारमा आउन सक्छ । आपूर्ति बढ्दा सेयर मूल्यमा दबाब पर्न सक्ने जोखिम हुन्छ । यस्तो अवस्थामा हकप्रद सेयरको प्रस्तावले लगानीकर्ताको ध्यान तान्ने र बजारमा बिक्रीको दबाब कम गर्ने अपेक्षा कम्पनीहरूको हुने गरेको देखिन्छ ।

    तर, हालैका दुई जलविद्युत् कम्पनीको अवस्थाले हकप्रदको प्रस्ताव मात्रै पर्याप्त नहुने देखाएको छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मोदी इनर्जीले लकिङ अवधि सकिएपछि पनि हकप्रद ल्याउने प्रक्रिया अघि बढाइरहेका छन्, तर दुवै कम्पनीको सेयर मूल्यमा अपेक्षित प्रभाव देखिएको छैन ।

    मनकामनाको लकिङ खुल्यो, हकप्रद अझै बोर्डमै पुगेन

    मनकामना इन्जिनियरिङ हाइड्रोपावर २०८० असोजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको तीन वर्षे लकिङ अवधि २०८३ भदौको पहिलो साता सकियो । लकिङ खुल्नुअघि कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारे पनि समयमै प्रक्रिया पूरा गर्न सकेन ।

    कम्पनीले २०८२ भदौमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा एक कित्ता बराबर एक कित्ता अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको थियो । विद्युत् नियमन आयोगले भने उक्त अनुपातमा स्वीकृति नदिई प्रतिकित्ता एक बराबर ०.७७ कित्ताका दरले हकप्रद जारी गर्न स्वीकृति दिएको छ ।

    कम्पनीले यही प्रस्ताव भदौ १७ गते विशेष साधारणसभाबाट पारित गरिसकेको छ । तर हकप्रद निष्कासनको अनुमति लिनुपर्ने नेपाल धितोपत्र बोर्डमा भने प्रक्रिया अझै पुगेको छैन ।

    यसबीच कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब २५८ रुपैयाँमा झरेको छ । बजारमा आएको समग्र गिरावटसँगै लकिङ अवधि खुलेर ठूलो परिमाणमा सेयर कारोबारयोग्य बन्नुले पनि मूल्यमा दबाब परेको देखिन्छ ।

    मनकामनाको सर्वसाधारणतर्फ करिब २८ लाख कित्ता सेयर भए पनि लकिङ खुलेसँगै करिब ८० लाख कित्ता सेयर कारोबारका लागि योग्य भएको छ । कम्पनीले समयमै हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउन सकेको भए लकिङ खुल्ने समयमा बजारमा त्यसको मनोवैज्ञानिक प्रभाव फरक पर्न सक्ने देखिन्थ्यो ।

    नाफामा आए पनि सञ्चित नोक्सान कायमै

    दोलखामा ५ मेगावाटको घट्टेखोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको मनकामना इन्जिनियरिङ गत आर्थिक वर्षमा भने नाफामा आएको छ । कम्पनीले २०८२र८३ मा करिब १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    तर कम्पनीको सञ्चित नोक्सान अझै करिब २८ करोड रुपैयाँ छ । त्यसैले तीन वर्षको अवधिमा लगानीकर्तालाई लाभांश दिन नसकेको कम्पनीले प्रस्तावित हकप्रदबाट जुट्ने रकम पनि प्रतिफल बाँड्नभन्दा वित्तीय दायित्व व्यवस्थापनमा प्रयोग गर्ने सम्भावना बढी छ ।

    कम्पनीको ऋण करिब ७४ करोड रुपैयाँ छ । विद्युत् नियमन आयोगबाट स्वीकृत अनुपातमा हकप्रद जारी भए करिब ६२ करोड रुपैयाँ जुट्ने अनुमान छ ।

    मोदी इनर्जीमा पनि उस्तै कथा

    मोदी इनर्जीको अवस्था पनि मनकामनासँग धेरै फरक छैन । २०८० असारदेखि दोस्रो बजारमा कारोबार भइरहेको कम्पनीको लकिङ अवधि २०८३ वैशाखमा सकिएको हो । लकिङ खुल्दा कम्पनीको ठूलो परिमाणको सेयर बजारमा कारोबारयोग्य बनेको छ ।

    मोदी इनर्जीले भने २०८१ साउनमै एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको थियो । पछि २०८२ चैतमा कम्पनीले एक सय कित्ता बराबर ९० कित्ता अर्थात् १ः०.९ अनुपातमा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर हालसम्म अनुमति प्रक्रिया टुंगिएको छैन ।

    कम्पनीको सेयर मूल्य पनि एक समय प्रतिकित्ता ३५० रुपैयाँभन्दा माथि पुगे पनि अहिले करिब २१० रुपैयाँमा सीमित छ।

    मोदी इनर्जीको सर्वसाधारणतर्फ करिब ७२ लाख कित्ता सेयर रहेको छ । लकिङ अवधि सकिएपछि कम्पनीको कुल करिब २ करोड ९० लाख कित्ता सेयर कारोबारयोग्य बनेको छ । ठूलो परिमाणमा सेयर बजारमा आउन सक्ने अवस्थाबीच हकप्रदको प्रस्तावले समेत सेयर मूल्यलाई बलियो बनाउन सकेको देखिँदैन ।

    हकप्रदबाट ऋण तिर्ने तयारी

    मोदी इनर्जीले २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनी अहिले पनि करिब ८ करोड रुपैयाँ नोक्सानमा छ भने सञ्चित नोक्सान करिब १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

    कम्पनीको ऋण करिब ३ अर्ब ४५ करोड रुपैयाँ छ भने प्रस्तावित हकप्रदबाट करिब २ अर्ब ६१ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ । त्यसैले हकप्रदबाट प्राप्त हुने रकमको ठूलो हिस्सा ऋण व्यवस्थापनमा प्रयोग हुने सम्भावना छ ।

    हकप्रदले मात्रै धान्ला त बजाररु

    यी दुई कम्पनीको अवस्थाले जलविद्युत् कम्पनीका लागि हकप्रद सेयर लगानीकर्ता आकर्षित गर्ने माध्यम भए पनि त्यसले मात्रै सेयर मूल्य टिकाइराख्न कठिन हुने देखाएको छ ।

    विशेषगरी तीन वर्षे लकिङ अवधि सकिएपछि बजारमा थपिने सेयरको आपूर्ति, कम्पनीको नाफा–नोक्सान, सञ्चित नोक्सान र ऋणको आकारले लगानीकर्ताको निर्णयमा ठूलो प्रभाव पार्छ । लाभांशको इतिहास कमजोर रहेका कम्पनीले हकप्रदबाट थप पुँजी उठाए पनि त्यो रकम उत्पादन विस्तारभन्दा ऋण तिर्नमा प्रयोग हुने अवस्था रहेमा लगानीकर्ताले अपेक्षा गरेको प्रतिफल तत्काल नआउन सक्छ ।

    त्यसैले लकिङ खुल्नुअघि हकप्रदको ‘अस्त्र’ चलाउने जलविद्युत् कम्पनीका लागि अब प्रश्न प्रस्ताव ल्याउने होइन, त्यसबाट उठेको पुँजीले कम्पनीको वित्तीय अवस्था कति सुधार्छ भन्ने बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images