images
images
  • रुकुमपश्चिमका छ स्थानीय तहको लगानीमा स्यार्पु हाइड्रोको परीक्षण उत्पादन सुरु

    काठमाडौं – रुकुमपश्चिमका छवटै स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका–३ मा निर्माण भएको ३.३ मेगावाट क्षमताको स्यार्पु जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।

    स्यार्पु पावर कम्पनी प्रवर्धक रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि गत शुक्रबारदेखि परीक्षण उत्पादन थालिएको कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुए । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकिएको उनले बताए ।

    परीक्षणका क्रममा प्राविधिक समस्या नदेखिए करिब १५ दिनभित्र नेपाल विद्युत् प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन सुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

    रुकुमपश्चिमका स्थानीय तहले सामूहिक लगानीमा निर्माण गरेको यो आयोजना जिल्लाका लागि नयाँ वित्तीय अभ्यासका रूपमा हेरिएको छ । आयोजनाको कुल लागत करिब ६२ करोड रुपैयाँ पुगेको छ ।

    छ स्थानीय तहको ५४ प्रतिशत लगानी

    स्यार्पु पावर कम्पनीमा रुकुमपश्चिमका छवटै स्थानीय तहको ५४ प्रतिशत लगानी रहेको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयको १ प्रतिशत लगानी छ भने बाँकी ४५ प्रतिशत हिस्सा सार्वजनिक सेयरमार्फत स्थानीय नागरिक तथा अन्य लगानीकर्तालाई दिने तयारी गरिएको कम्पनीका कार्यकारी प्रमुख प्रदीप ओलीले जानकारी दिए ।

    पालिकाको प्रत्याभूतिका आधारमा राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण लिएर आयोजना निर्माण गरिएको हो । स्थानीय तहको वित्तीय स्रोत, सार्वजनिक लगानी र बैङ्किङ कर्जालाई जोडेर जलविद्युत् आयोजना निर्माण गरिएको कम्पनीले जनाएको छ ।

    आयोजनाको प्रक्रिया २०७८ सालदेखि सुरु भएको थियो । २०८० मङ्सिर २५ गते तत्कालीन मन्त्री जनार्दन शर्माले आयोजनाको शिलान्यास गरेका थिए । स्थानीय तहलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले स्यार्पु जलविद्युत्को अवधारणा अघि बढाइएको बताइएको छ ।

    वर्षमा १ करोड ८१ लाख युनिट विद्युत् उत्पादन हुने

    रन अफ रिभर प्रकृतिको आयोजनाबाट वार्षिक करिब १ करोड ८१ लाख ७७ हजार युनिट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् बिक्रीबाट वार्षिक करिब १० करोड १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ ।

    रुकुमपश्चिमको स्यार्पुताल हुँदै बग्ने तिल्चाखोलाको पानी उपयोग गरी आयोजना निर्माण गरिएको हो । आयोजनाको जडित क्षमता ३.३ मेगावाट, डिजाइन बहाव १.४० घनमिटर प्रतिसेकेन्ड र कुल हेड २८३.२० मिटर रहेको छ ।

    आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत बाँफीकोट सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता भइसकेकाले व्यावसायिक उत्पादन सुरु भएपछि आयोजनाले नियमित रूपमा विद्युत् बिक्रीबाट आम्दानी गर्नेछ ।

    स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको आयोजनाबाट विद्युत् उत्पादन सुरु हुन थालेसँगै जिल्लाका स्थानीय सरकारको लगानीलाई दीर्घकालीन आम्दानीको स्रोतमा रूपान्तरण गर्ने प्रयासले समेत मूर्तरूप लिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images