काठमाडौं – पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि पर्यटनसम्बद्ध संस्थाहरूलाई एउटै छातामुनि ल्याएर ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ । पर्यटन क्षेत्रका प्रमुख सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको बैठकले साझा मुद्दामा एकीकृत आवाज उठाउन महासङ्घ गठन गर्ने निर्णय गरेको हो ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आइतबार साँझ बसेको बैठकमा नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण सङ्घ, पाटा नेपाललगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि सहभागी थिए ।
बैठकले पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संयुक्त रूपमा संवाद र पहल गर्न महासङ्घलाई प्रभावकारी संयन्त्रका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ । पर्यटन क्षेत्रका विभिन्न संस्थाले छुट्टाछुट्टै रूपमा उठाउँदै आएका मुद्दालाई अब एकीकृत समूह, अवधारणा र आवाजमार्फत अघि बढाउने तयारी गरेको हो ।
बैठकले भदौ १० गतेको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । अझै बेपत्ता रहेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मीका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने निर्णयसमेत गरेको छ ।
विपद्का पीडितको स्मृतिमा अन्तर्राष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नयाँ पर्यटन ऐनमा निजी क्षेत्रको चासो
सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेका बेला पर्यटन क्षेत्रका संस्थाले ऐनलाई समयानुकूल, व्यावहारिक र लगानीमैत्री बनाउन माग गरेका छन् ।
नेपालको भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक विशेषता र पर्यटन व्यवसायको वास्तविक अवस्थालाई समेटेर सुरक्षित, समावेशी, लगानीमैत्री तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी नयाँ ऐन निर्माण गर्नुपर्ने बैठकको निष्कर्ष छ ।
पर्यटन बोर्डको बजेटलाई परिणाममुखी बनाउन जोड
बैठकमा नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे पनि छलफल भएको थियो । निजी क्षेत्रका प्रतिनिधिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र बदलिँदो पर्यटन बजारलाई ध्यानमा राख्दै बोर्डको बजेट बढी व्यवसायमैत्री, परिणाममुखी र प्रभावकारी हुनुपर्ने बताएका छन् ।
पर्यटन प्रवर्द्धनलाई बजेट खर्चमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, डिजिटल तथा कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग, नयाँ पर्यटक बजारको खोजी र नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकाससँग जोड्नुपर्ने उनीहरूको धारणा छ ।
पर्यटन क्षेत्रका संस्थाबीचको समन्वय कमजोर हुँदा साझा समस्या प्रभावकारी रूपमा सरकारसमक्ष पुग्न नसकेको अवस्थामा प्रस्तावित महासङ्घले निजी क्षेत्रको सामूहिक प्रतिनिधित्व गर्ने अपेक्षा गरेको छ । नयाँ संरचनामार्फत पर्यटन नीतिदेखि प्रवर्द्धन र विपद् व्यवस्थापनसम्मका साझा मुद्दामा सरकारसँग संस्थागत रूपमा संवाद गर्ने तयारी गरिएको हो ।


विश्व खबर 




















