images
images
  • रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ सञ्चालनको परीक्षण सफल

    काठमाडौं – गुल्मीको प्रमुख पर्यटकीय गन्तव्य रेसुङ्गामा निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै साहसिक पर्यटनका यी दुवै पूर्वाधार नियमित सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

    रेसुङ्गा नगरपालिका–९ गर्जुरामा निर्माण गरिएको जिपलाइन ५६८ मिटर लामो छ भने स्काई साइक्लिङ ११० मिटर लामो छ । अन्तिम परीक्षणका क्रममा करिब ४० जनाले दुवै साहसिक खेलको अनुभव गरेका थिए ।

    परीक्षणमा सहभागी लक्ष्मी खनालले जिपलाइन यात्रा सहज हुनुका साथै रेसुङ्गाको प्राकृतिक दृश्य अवलोकन गर्दै रोमाञ्चक अनुभव भएको बताए । उनका अनुसार ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको थियो ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पर्यटन प्रवद्र्धनलाई लक्षित गरी साहसिक पर्यटनका पूर्वाधार निर्माण गरिएको बता्रए । जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा आएपछि रेसुङ्गामा पर्यटकको आकर्षण थप बढ्ने उनको आशा छ ।

    नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीका अनुसार अबको एक साताभित्र दुवै सेवा नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्रारम्भिक चरणमा नगरपालिकाले नै यसको व्यवस्थापन तथा सञ्चालन गर्ने बताए ।

    नगरपालिकाले जिपलाइनको शुल्क ६०० रुपैयाँ र स्काई साइक्लिङको शुल्क ४०० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

    समुद्री सतहबाट करिब दुई हजार ३०० मिटरको उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खलासँगै आसपासका मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । रेसुङ्गा क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण स्थान हो ।

    करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको जिपलाइन तथा स्काई साइक्लिङ योजना विभिन्न समस्याका कारण लामो समयदेखि अलपत्र अवस्थामा थियो भने निर्माण पूरा भए पनि परीक्षण बाँकी रहेकाले भुक्तानीसमेत रोकिएको थियो ।

    पछिल्लो समय गुल्मीमा पर्यटकको आगमन बढिरहेका बेला नयाँ साहसिक पर्यटन पूर्वाधार थपिएसँगै रेसुङ्गाको पर्यटन गतिविधिले गति लिने आशा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images