images
images
  • बाढीले किताब बगाएपछि विद्यार्थीको पढाइ अन्योलमा

    काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले घरबारसँगै कापी–किताब, विद्यालय पोसाक र झोला बगाएपछि पर्वतको जलजला गाउँपालिका–७, फर्सेस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थीको पढाइ अन्योलमा परेको छ ।

    बाढीबाट विस्थापित स्थानीयले राहतस्वरूप चामल, तरकारी, नुन, तेल, लत्ताकपडा र पाल पाए पनि विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री भने अझै पुगेको छैन । बाढीमा शिव माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० विद्यार्थीका कापी, कलम, किताब, झोला र विद्यालय पोसाक बगेका छन् ।

    कक्षा १० मा अध्ययनरत दिवस केसीका अनुसार परीक्षा नजिकिँदै गर्दा किताब नहुँदा पढाइ प्रभावित भएको छ । “परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्नेरु” उनले भने, “बजारमा खोज्न गए पनि कापी–किताब पाइँदैन ।”

    बाढीपछि लस्ती क्षेत्रका बासिन्दा १० दिनदेखि खेतमा बनाइएका प्लास्टिकका टनेल तथा आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । घरबार गुमाएका परिवारलाई विभिन्न निकाय र समूहले राहत उपलब्ध गराइरहे पनि बालबालिकाको शैक्षिक आवश्यकतामा भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।

    कक्षा ८ मा अध्ययनरत सुलभ थापा राहत वितरणका लागि आउने समूहसँग किताब पनि ल्याइएको छ कि भनेर हेर्ने गरेको बताउँछन् । बाढीले घर र सम्पत्तिसँगै किताबसमेत बगाएपछि विद्यार्थीहरू आफ्ना घर रहेको बगरमा गएर किताब खोज्ने गरेका छन्।

    शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत सापकोटाका अनुसार बाढीले विद्यार्थीका शैक्षिक सामग्री बगाएको विवरण विद्यार्थी र अभिभावकसँगको कुराकानीपछि थाहा भएको हो । “शैक्षिक वर्षको मध्य भाग भयो, किताब पाउने समस्या छ,” उनले भने, “उनीहरूलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ ।”

    विद्यालय भवनमा समेत बाढीको असर परेको छ । अभिभावकहरू घरबारविहीन भएकाले उनीहरूकै सल्लाहमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रधानाध्यापक सापकोटाले बताए । विद्यालय आजदेखि सञ्चालन गर्ने तयारी भए पनि धेरै विद्यार्थी रित्तै हात विद्यालय जानुपर्ने अवस्था छ । उनीहरूलाई परीक्षा कसरी दिने भन्ने चिन्ता पनि छ ।

    बाढीपीडितमध्ये विद्यालयकी शिक्षिका लक्ष्मी मल्ल थापा स्वयं पनि पीडित छन् । सुत्केरी रहेकी थापाको घरखेत बाढीले बगाएपछि उनी पति अर्जुन र तीन छोरासहित छिमेकीको आश्रयमा बसिरहेकी छन् । जागिर भए पनि तत्काल घरव्यवहार सञ्चालन गर्न कठिन भएको उनको परिवारको अवस्था छ। शिक्षककै छोराछोरीसमेत कापी–किताबविहीन भएका छन् ।

    बाढीबाट फर्से क्षेत्रमा ७१ घरमा बालुवा र हिलो पसेर घरभित्र रहेका खाद्यान्नलगायत सामग्री नष्ट भएको स्थानीयले बताएका छन् । घरभित्र बाँकी रहेका सामग्रीसमेत हिलाम्मे भएका छन् । भग्नावशेषमा छिर्नसमेत जोखिम रहेको स्थानीयको भनाइ छ ।

    स्थानीय दीपा कार्कीले मदुसमा राखिएको धानसमेत हिलोले पुरिएको बताइन् । “माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु,” उनले भनिन्, “पखालेर केही बाँकी रहन्छ किरु”

    बाढीले कालीगण्डकीको झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङको ढोडेनीबाट शिव माध्यमिक विद्यालय आउने विद्यार्थी र एक शिक्षकलाई थप समस्या भएको छ। यसअघि पाँच मिनेटमा विद्यालय पुग्ने उनीहरू अहिले करिब दुई घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा छन्।

    बाढीपीडित पार्वती आचार्यले राहत वितरणसँगै बालबालिकाको पढाइतर्फ पनि ध्यान दिनुपर्ने बताइन् । “पीडितको घरछेउमा गएर कठैबरा भनिदिनेहरूले त झन् पीर पार्ने रहेछ,” उनले भनिन्, “केही शान्त भएको मन फेरि अशान्त भएको छ ।”

    बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि दर्जनभन्दा बढी समूह पुगे पनि विद्यार्थीका कापी–किताब र विद्यालय पोसाकको व्यवस्थापनमा भने खासै ध्यान नदिइएको स्थानीयको गुनासो छ । राहतमा पाएको चामल र पालको विषयमा विवाद भइरहे पनि बालबालिकाको शैक्षिक भविष्यबारे पर्याप्त चासो नदिइएको उनीहरूको भनाइ छ ।

    जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बाढीबाट विस्थापित परिवारको लगत संकलन भइरहेको र पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय तथा गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए । प्रभावित बालबालिकाको पढाइलाई निरन्तरता दिन आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनतर्फ पनि तत्काल ध्यान दिनुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images