काठमाडौं – चाडपर्वका बेला यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भन्दै बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउन तथा सार्वजनिक यातायातमा देखिन सक्ने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार यात्रुको गुनासो सुन्ने, आवश्यक समन्वय गर्ने तथा तत्काल समस्या समाधानमा सहजीकरण गर्ने गरी सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्ष गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाडमा स्थापना गरिएको छ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई ठगी गर्ने तथा यात्राका क्रममा हुने अन्य समस्याबारे सहायता कक्षमा गुनासो गर्न सकिने प्रहरी निरीक्षक सिंहले बताए ।
“चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” उनले भने, “यात्रु र यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने अपेक्षा गरेका छौँ ।”
प्रहरीका अनुसार सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, परामर्श तथा सहयोग सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यात्राका क्रममा कुनै समस्या वा गुनासो भए नजिकैको सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।
चाडपर्वमा घर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन नियमित अनुगमन तथा समन्वयसमेत गरिने प्रहरीले जनाएको छ ।


विश्व खबर 



















