काठमाडौं – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आर्थिक वर्ष २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएपछि पर्यटक शुल्कबाट हुने आम्दानीसमेत बढेको हो ।
एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुलुकबाट तीन लाख ८४ हजार १४५ र अन्य मुलुकबाट एक लाख २४ हजार ३३१ गरी कुल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।
कुल पर्यटकमध्ये सबैभन्दा धेरै तीन लाख ७५ हजार ७९७ जना भारतीय पर्यटक थिए । एक्यापले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।
“गत आवमा भारतीय पर्यटक धेरै आएका कारण पर्यटक शुल्कबाट उठ्ने रकम पनि बढ्यो,” आयोजना प्रमुख डा. कडरियाले भने ।
पर्यटकको सङ्ख्यासँगै पर्यटक शुल्कबाट भएको आम्दानी पनि अहिलेसम्मकै उच्च हो । आव २०८१/८२ मा पर्यटक प्रवेश शुल्कबाट ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ संकलन भएको थियो । त्यस्तै, आव २०८०/८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ आम्दानी भएको थियो ।
गत आवमा भारतसहित १६९ देशका पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । आव २०८१/८२ को तुलनामा गत आवमा पर्यटकको सङ्ख्या झण्डै दोब्बर भएको आयोजना प्रमुख कडरियाले बताए । अघिल्लो आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
संरक्षणमै खर्च हुन्छ पर्यटक शुल्क
एक्यापका अनुसार पर्यटक शुल्कबाट प्राप्त आम्दानीको ठूलो हिस्सा संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको छ । सरकारले एक्यापलाई छुट्टै बजेट उपलब्ध नगराउने भएकाले कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन तथा वार्षिक कार्यक्रमसमेत यही आम्दानीबाट सञ्चालन हुँदै आएको आयोजना प्रमुख कडरियाले बताए ।
स्थानीय तहमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत विभिन्न कार्यक्रम तथा बजेट कार्यान्वयन हुने गरेको छ।
एक्यापले पर्यटक शुल्कबाट पदमार्ग निर्माण तथा मर्मत, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना, आयआर्जनका कार्यक्रम तथा संरक्षण शिक्षा लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।
आयोजना कार्यालयका अनुसार पर्यटक प्रवेश शुल्कबाट प्राप्त रकम एक्यापमै रहने गर्छ भने जडीबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोगबापत प्राप्त रकम भने नेपाल सरकारको राजस्वमा जम्मा हुन्छ ।
एक्याप क्षेत्रभित्र सञ्चालित जलविद्युत् आयोजना, पर्वतारोहण तथा निषेधित क्षेत्र प्रवेशलगायतबाट समेत राजस्व संकलन हुँदै आएको छ ।
विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नारफू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ प्रवेश शुल्क संकलन भएको छ । निषेधित क्षेत्रको प्रवेश शुल्क अध्यागमन कार्यालयमार्फत संकलन हुने गरेको छ ।
भारतीय पर्यटक सडकमार्गमा, अन्य पर्यटक पदयात्रामा
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा मुख्यतः असोज–कात्तिक र चैत–वैशाखमा विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढी हुने गरेको छ । वर्षायाम र जाडोमा पदयात्रीको सङ्ख्या घट्ने भए पनि अन्य समयमा अन्नपूर्ण क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ ।
७ हजार ६ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गर्ने गरेका छन् भने अन्य मुलुकका पर्यटकले पदयात्रा रोज्ने गरेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी र पुनहिललगायतका गन्तव्यमा हरेक वर्ष ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
पर्यटक आगमन बढेसँगै एक्यापको आम्दानीमा वृद्धि हुनुका साथै संरक्षण, पूर्वाधार विकास र स्थानीय समुदायको आयआर्जनमा समेत थप लगानीको अवसर सिर्जना भएको आयोजना कार्यालयले जनाएको छ ।


विश्व खबर 



















