काठमाडौं– यति एयरलाइन्सले गत आर्थिक वर्ष ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ३८ करोड ४० लाख, २०२४ मा ४ अर्ब २५ करोड ८० लाख, २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख र २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ कारोबार गरेको थियो ।
तर, इन्धनको मूल्यवृद्धिका कारण सञ्चालन मार्जिन ३३ प्रतिशतबाट घटेर २६ प्रतिशतमा आएको छ ।
खुद नाफा पनि ६४ करोड ८० लाखबाट घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले निजी प्लेसमेन्टमार्फत २ अर्ब २७ करोड रुपैयाँ इक्विटी लगानी प्राप्त गरी ऋण घटाउन तथा विमानको इन्जिन ओभरहोलमा प्रयोग गरेको जनाएको छ ।
यससँगै कम्पनीको गियरिङ अनुपात १.४९ गुणामा झरेको छ ।
यति एयरलाइन्सले आगामी दिनमा करिब २।१ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ ।
आईपीओबाट प्राप्त रकमले कम्पनीको ऋणभार र गियरिङ प्रोफाइलमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
सन् २००२ मा स्थापना भएको यति एयरलाइन्सले हाल ७ वटा एटीआर–७२ विमानमार्फत १८ वटा आन्तरिक रुटमा सेवा दिँदै आएको छ ।
कम्पनीले आन्तरिक हवाई बजारमा करिब २२–२३ प्रतिशत हिस्सा रहेको जनाएको छ ।
कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको २९.८५ प्रतिशत, लाक्पासोनम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।


विश्व खबर 



















