images
images
  • सडक अवरुद्ध भएपछि कागबेनीधाम सुनसान, श्राद्ध गर्न आउने तीर्थालु शून्यप्रायः

    काठमाडौं – चाडपर्वका बेला हजारौँ धार्मिक तीर्थालुले भरिभराउ हुने मुस्ताङको प्रसिद्ध कागबेनीधाम यतिबेला सुनसान बनेको छ । बेनी–जोमसोम सडकमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएपछि सोह्रश्राद्धको समयमा कागबेनी आउने तीर्थालुको सङ्ख्या शून्यप्रायः भएको हो ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनीधाममा सोह्रश्राद्धका बेला दैनिक सयौँ तीर्थालु पुगेर कालीगण्डकी नदीको तटमा दिवङ्गत पितृका नाममा पिण्डदान, तर्पण तथा श्राद्ध गर्ने गर्दथे । तर यस वर्ष सोह्रश्राद्ध सुरु भएको आठौँ दिनसम्म पनि यहाँ तीर्थालुको उपस्थिति नगण्य छ ।

    अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा सञ्चालित पितृतीर्थस्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाका अनुसार भदौ १० गते रसुवामा आएको बाढी तथा असोज ८ गतेदेखि भएको भारी वर्षाका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुको सङ्ख्या अत्यन्तै घटेको हो ।

    “यस वर्षको सोह्रश्राद्धको आठौँ दिन बितिसक्दा एक प्रतिशत पनि धार्मिक तीर्थालु कागबेनी आउन सकेका छैनन्,” कोइरालाले भने।

    विगतका वर्षमा सोह्रश्राद्धका बेला दैनिक करिब ५०० जना तीर्थालु कागबेनीमा श्राद्ध गर्न आउने गरेका थिए। विशेषगरी सोह्रश्राद्धको अन्तिम दिन औँसीका अघिल्लो र पछिल्लो दिन कागबेनीमा तीर्थालुको अत्यधिक भीड हुने गरेको थियो। तीर्थालुले गर्दा घाँसादेखि मुक्तिनाथसम्मका होटलसमेत भरिभराउ हुने गरेका थिए ।

    तर यस वर्ष सडक अवरुद्ध भएपछि तीर्थालुको आवागमनमा पूर्णविराम लागेको छ। आठौँ दिनसम्म जम्मा डेढ दर्जनजति व्यक्तिले मात्र कागबेनीमा श्राद्ध गरेको पुजारी कोइरालाले जानकारी दिनुभयो। त्यसमध्ये अधिकांश मुस्ताङमै कार्यरत निजामती कर्मचारी रहेको उहाँको भनाइ छ ।

    विगतमा श्राद्ध गराउन कागबेनीमा सयभन्दा बढी पुजारी तथा पण्डित आउने गरे पनि यस वर्ष सडक अवरुद्धका कारण बाहिरबाट आएका एक दर्जनभन्दा बढी पुजारीसमेत श्राद्ध गराउन नपाई फर्किएका छन्। कागबेनी धर्मशालामा कार्यरत आठ पुजारीमध्ये तीन जना घर फर्किसकेका छन् ।

    सडक अवरुद्ध हुँदा धार्मिक गतिविधिसँगै मुस्ताङको पर्यटन व्यवसायमा समेत ठूलो असर परेको छ। धार्मिक आस्थाको केन्द्र कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा पर्यटक तथा तीर्थालुको आवागमन घटेपछि होटल, यातायात तथा अन्य पर्यटन व्यवसाय प्रभावित भएका छन् ।

    कागबेनीस्थित होटल याक डोमिनाल्सकी सञ्चालिका तथा पर्यटन व्यवसायी लक्ष्मी गुरुङले सडक अवरुद्ध हुनु पर्यटन व्यवसायका लागि ठूलो समस्या भएको बताए ।

    “यो समय पर्यटकीय अनुकूल याम हो, यही बेला बेनी–जोमसोम सडक अवरुद्ध हुनु हामीहरूका लागि दुर्भाग्य हो,” उहाँले भन्नुभयो, “मुस्ताङको सिजनल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ। मुस्ताङ आउने योजना बनाएका पर्यटकले समेत धमाधम होटल बुकिङ रद्द गरिरहेका छन्।”

    असोज ८ देखि ११ गतेसम्मको भारी वर्षा, बाढीपहिरो र नदी कटानले सडक तथा सञ्चार र विद्युत् सेवामा समेत असर पुर्‍याएको गुरुङले बताउनुभयो। यसबाट पर्यटन व्यवसायीसँगै कृषक, यातायात व्यवसायी, उद्योगी तथा अन्य व्यवसायी पनि प्रभावित भएका छन् ।

    “स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन्,” उनले भने, “अलपत्र परेका पर्यटक बैंकिङ सेवा बन्द भएकाले होटलमै बसेर खाएको पैसा तिर्न नसक्ने अवस्थामा छन्। इन्धनको समस्या छ, विकास निर्माणका कामसमेत ठप्प भएका छन् ।”

    पर्यटन व्यवसायीका अनुसार सोह्रश्राद्धको समयमा कागबेनीमा ठूलो सङ्ख्यामा तीर्थालु आउने गरे पनि यस वर्ष सडक अवरुद्धका कारण त्यसको प्रभाव पर्यटन क्षेत्रमा प्रत्यक्ष परेको छ। बेनी–जोमसोम सडक एक साताभन्दा बढी समयदेखि अवरुद्ध हुँदा कागबेनीमा रहेका पुजारी तथा पण्डितसमेत कामविहीन बनेका छन् ।

    कागबेनी कालीगण्डकी र मुक्तिनाथ क्षेत्रबाट बगेर आउने नदीको सङ्गमस्थलका रूपमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दा पितृले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    धार्मिक मान्यताअनुसार काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेकाले यहाँको कालीगण्डकी तटलाई पवित्र तीर्थस्थलका रूपमा लिइन्छ। यही धार्मिक आस्थाका कारण हरेक वर्ष सोह्रश्राद्धका बेला देशका विभिन्न स्थानबाट हजारौँ तीर्थालु कागबेनी पुग्ने गरेका छन् ।

    तर यस वर्ष सडक सञ्जाल अवरुद्ध भएपछि धार्मिक तथा पर्यटकीय गतिविधि दुवै ठप्पजस्तै बनेका छन् । बेनी–जोमसोम सडकको अवरोध तत्काल हटाउन नसकिए कागबेनीसहित समग्र मुस्ताङको पर्यटन व्यवसायमा थप ठूलो असर पर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images