विश्वखबरको स्थापना केवल समाचार प्रकाशित गर्ने उद्देश्यले भएको होइन। हाम्रो मूल विश्वास हो- पत्रकारिता नागरिकको आवाज बन्नुपर्छ, सत्तालाई प्रश्न गर्नुपर्छ र गरिहने छौं। सार्वजनिक संस्थाहरूलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ।
नेपाल अहिले एउटा महत्त्वपूर्ण संक्रमणको चरणमा छ। राजनीतिक परिवर्तनहरू भए, संघीयता कार्यान्वयन भयो, तीन तहका सरकार बने र विकासका लागि ठूलो मात्रामा सार्वजनिक स्रोत परिचालन भयो। तर त्यससँगै भ्रष्टाचार, सार्वजनिक स्रोतको दुरुपयोग, कमजोर संस्थागत जवाफदेहिता, कमसल विकास निर्माण र सुशासनको संकट पनि गम्भीर चुनौतीका रूपमा देखिएका छन्।
यस्तो अवस्थामा हामी पत्रकारितालाई केवल घटनाको विवरण दिने माध्यमका रूपमा हेर्न सक्दैनौं। हामी प्रश्न गर्न चाहन्छौं। हामी तथ्य खोज्न चाहन्छौं। हामी प्रमाण सार्वजनिक गर्न चाहन्छौं। र, हामी जिम्मेवारलाई जवाफदेही बनाउन चाहन्छौं।
दुई मूल आधारमा विश्वखबर
विश्वखबरले आफ्नो आगामी यात्रालाई विशेषगरी दुई मूल आधारमा केन्द्रित गर्दैछ ।
पहिलो- स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित विश्वसनीय तथा जिम्मेवार पत्रकारिता।
दोस्रो- सुशासन, जवाफदेहिता र सार्वजनिक उत्तरदायित्वका लागि खोज पत्रकारिता।
हामी विश्वास गर्छौं कि लोकतन्त्र केवल निर्वाचनबाट बलियो हुँदैन। लोकतन्त्र त्यतिबेला बलियो हुन्छ, जब सत्ता र यसकास गतिविधि पारदर्शी हुन्छ, सार्वजनिक स्रोत सुरक्षित हुन्छ, संस्थाहरू जवाफदेही हुन्छन् र नागरिकसँग प्रश्न गर्ने स्वतन्त्रता हुन्छ। त्यसैले विश्वखबर पत्रकारितालाई लोकतान्त्रिक निगरानीको महत्त्वपूर्ण उत्तरदायी माध्यमका रूपमा विकास गर्न चाहन्छ।
संघदेखि स्थानीय तहसम्म हाम्रो निगरानी
संघीयतापछि नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बनेका छन्। यसले नागरिकको नजिक सरकार पुर्याएको छ। तर सार्वजनिक स्रोत, बजेट, ठेक्का, आयोजना र निर्णय गर्ने अधिकार पनि विभिन्न तहमा फैलिएको छ । त्यसैले अब निगरानी पनि त्यही अनुपातमा बलियो हुनुपर्छ। अझ सशक्त हुनुपर्छ।
कुनै वडा कार्यालयदेखि सिंहदरबारसम्म, कुनै गाउँपालिकादेखि प्रदेश सरकारसम्म- सार्वजनिक स्रोत र सार्वजनिक अधिकारको प्रयोगमाथि नागरिक र पत्रकारिताको निगरानी आवश्यक छ।
विश्वखबरले सार्वजनिक खरिद, ठेक्का, पूर्वाधार आयोजना, बजेट खर्च, सरकारी निर्णय, सार्वजनिक सम्पत्ति, सेवा प्रवाह तथा सम्भावित आर्थिक अनियमितताका विषयमा निरन्तर खोज पत्रकारितालाई प्राथमिकता दिनेछ।
भ्रष्टाचारविरुद्ध कुनै सम्झौता हुँदैन
हामी स्पष्ट हुन चाहन्छौं- पत्रकारिताको नाममा कुनै बार्गेनिङ हुँदैन। समाचार रोक्न, समाचार प्रकाशित गर्न, अनुसन्धान कमजोर बनाउन वा व्यक्ति अथवा संस्थालाई संरक्षण गर्न आर्थिक, राजनीतिक वा व्यक्तिगत स्वार्थका आधारमा कुनै सम्झौता गरिनेछैन।
विश्वखबरसँग आबद्ध कुनै व्यक्ति वा सदस्यले पत्रकारितालाई व्यक्तिगत लाभको माध्यम बनाउन पाउने छैन। कसैले गलत गर्छ भने त्यसको अनुसन्धान हुनेछ। प्रमाण भेटिएमा समाचार बन्नेछ। समाचार रोक्न दबाब आएमा हामी आफ्नो सम्पादकीय स्वतन्त्रताको पक्षमा दरिलो उभिनेछौं।
हाम्रो पक्ष व्यक्ति होइन, तथ्य हो।
हाम्रो आधार सम्बन्ध होइन, प्रमाण हो।
हाम्रो उद्देश्य स्वार्थ होइन, जनहित हो।
विगतका भ्रष्टाचार पनि खोजिनेछन्
हाम्रो अभियान आजबाट सुरु भएका घटनामा मात्र सीमित हुनेछैन। विगतमा भएका ठूला भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक स्रोतको दुरुपयोग, कमसल विकास निर्माण, नीतिगत विचलन तथा अधिकारको दुरुपयोगका विषयमा पनि निरन्तर खोज गरिनेछ।
सरकार परिवर्तन हुँदैमा विगतका प्रश्न समाप्त हुँदैनन्। सत्ता परिवर्तन हुँदैमा सार्वजनिक पैसाको हिसाब हराउँदैन। र, समय बित्दैमा सार्वजनिक जवाफदेहिता समाप्त हुँदैन। विगतका फाइलहरू पनि खुल्नुपर्छ। तथ्यहरू पनि खोजिनुपर्छ।
जिम्मेवारहरू पनि प्रश्नभन्दा माथि हुँदैनन्। विश्वखबर आफैं पनि जवाफदेही हुनेछ। हामी अरूलाई जवाफदेही बनाउने पत्रकारिता गर्न चाहन्छौं भने हामी आफैं पनि जिम्मेवार र जवाफदेही हुन्छौं।
त्यसैले विश्वखबरका लागि सम्पादकीय स्वतन्त्रता, तथ्य परीक्षण, स्रोतको सुरक्षा, निष्पक्षता, सम्बन्धित पक्षको धारणा, प्रमाणमा आधारित रिपोर्टिङ र गल्ती भए सच्याउने संस्कार आधारभूत मूल्य हुनेछन्।
हामीले अरूको भ्रष्टाचार खोज्ने तर आफ्नै संस्थाभित्र गलत कामलाई संरक्षण गर्ने अवस्था स्वीकार गर्ने छैनौं। जवाफदेहिता हाम्रो समाचारको विषय मात्र होइन, हाम्रो आफ्नै संस्थागत संस्कार पनि हो।
नेपाली पत्रकारिताको विश्वसनीयताको पुनर्निर्माण
आज नेपाली पत्रकारिता स्वयम् पनि विश्वासको संकटबाट गुज्रिरहेको छ। केही सञ्चारमाध्यम वा पत्रकारिताका नाममा भएका गलत अभ्यासका कारण समग्र मिडिया क्षेत्रप्रति नै प्रश्न उठ्ने अवस्था आएको छ।
यसलाई सुधार्नु हाम्रो सामूहिक जिम्मेवारी हो। हामीले पत्रकारितालाई राजनीतिक पहुँच, आर्थिक स्वार्थ, व्यक्तिगत सम्बन्ध वा व्यापारिक दबाबबाट मुक्त राख्नुपर्छ।
मिडिया शक्तिको दलाल होइन, जनताको प्रहरी
विश्वखबरले यही मूल्यलाई आफ्नो सम्पादकीय यात्राको केन्द्रमा राख्नेछ। विकासको प्रश्न हामी प्रायः भन्छौं- नेपाल विकास नभएर पछाडि परेको हो। तर हाम्रो प्रश्न अलि फरक छ। नेपालमा काम नभएको हो कि कामको गुणस्तर कमजोर भएको हो? बजेट नभएको हो कि बजेटको सदुपयोग नभएको हो? आयोजना नभएका हुन् कि आयोजना कार्यान्वयनमा भ्रष्टाचार र मिलेमतो भएको हो? नेपालको विकासको समस्या केवल स्रोतको कमी होइन।
धेरैपटक समस्या कमसल काम, कमजोर कार्यान्वयन, अपारदर्शी निर्णय, आर्थिक अनियमितता र जवाफदेहिताको अभाव हो। त्यसैले विश्वखबरले विकासलाई केवल उद्घाटन र शिलान्यासको समाचारका रूपमा होइन, नतिजा, गुणस्तर, लागत, समय र सार्वजनिक लाभको प्रश्नका रूपमा हेर्नेछ।
अन्तर्राष्ट्रिय सहकार्य किन?
नेपालका यी चुनौतीहरू नेपालभित्रका मात्र विषय होइनन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, खोज पत्रकारिता, डिजिटल सुरक्षा, डेटा पत्रकारिता र लोकतान्त्रिक जवाफदेहिता विश्वव्यापी मुद्दा हुन्। त्यसैले विश्वखबर विश्वका प्रतिष्ठित खोज पत्रकारिता संस्था, स्वतन्त्र मिडिया, अनुसन्धान संस्था, नागरिक समाज, विश्वविद्यालय, मिडिया फाउन्डेसन तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न इच्छुक छ। हामी केवल आर्थिक सहयोग खोजिरहेका छैनौं।
हामी ज्ञान, प्रविधि, अनुसन्धान क्षमता, डेटा, प्रशिक्षण, अन्तर्राष्ट्रिय अनुभव, संयुक्त अनुसन्धान र पत्रकारिताको विश्वव्यापी सञ्जालसँग सहकार्य गर्न चाहन्छौं। हामी विश्वास गर्छौं, स्थानीय तथ्य र अन्तर्राष्ट्रिय अनुभवबीचको सहकार्यले अझ प्रभावकारी पत्रकारिता जन्माउन सक्छ।
हाम्रो संकल्प
हामी ठूलो नारा लगाएर मात्र परिवर्तनको दाबी गर्न चाहँदैनौं। हाम्रो कामले हाम्रो प्रतिबद्धता प्रमाणित गर्नेछ। हामी भ्रष्टाचारलाई पत्रकारिताको नाममा संरक्षण गर्दैनौं। हामी पत्रकारितालाई बार्गेनिङको माध्यम बनाउँदैनौं। हामी शक्तिशाली व्यक्तिसँग प्रश्न गर्न डराउँदैनौं। हामी प्रमाणविना कसैलाई दोषी पनि ठहर गर्दैनौं। हामी तथ्य खोज्नेछौं, प्रमाण परीक्षण गर्नेछौं, सम्बन्धित पक्षलाई सुन्नेछौं र जनतालाई सत्यको नजिक पुर्याउने प्रयास गर्नेछौं।
अझ राम्रो नेपालका लागि
हाम्रो सपना केवल राम्रो मिडिया बनाउने होइन। हाम्रो लक्ष्य राम्रो पत्रकारितामार्फत राम्रो सार्वजनिक प्रणाली निर्माणमा योगदान गर्नु हो। हामी त्यस्तो नेपाल देख्न चाहन्छौं, जहाँ सार्वजनिक पैसा सुरक्षित होस्। जहाँ विकासको काम गुणस्तरीय होस्।
जहाँ भ्रष्टाचारलाई सामान्य व्यवहार नमानियोस्। जहाँ सरकार नागरिकप्रति जवाफदेही होस्। जहाँ संस्थाहरू राजनीतिक दबाबबाट मुक्त भएर काम गरून्।
जहाँ नागरिकले प्रश्न गर्न सकून्। र, जहाँ पत्रकारले शक्तिलाई प्रश्न गर्दा डराउन नपरोस्। यही हाम्रो अभियान हो। यही विश्वखबरको सम्पादकीय प्रतिबद्धता हो।
र, यही अभियानमा विश्वभर रहेका जिम्मेवार व्यक्ति, संस्था र मिडिया साझेदारहरूसँग हातेमालो गर्न हामी तयार छौं- नेपालका लागि, लोकतन्त्रका लागि, सुशासनका लागि, जवाफदेहिताका लागि र हाम्रो मातृभूमिका लागि।


विश्व खबर 



















