भर्जिनिया – श्रीमती ममता काफ्लेको हत्या गरेको र उनको शव लुकाएको अभियोग लागेका नेपाली मूलका नरेश भट्टविरुद्धको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि अमेरिकाको स्थानीय अदालतमा सुरु हुने भएको छ ।
नेपाली नर्स ममता अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्कबाट बेपत्ता भएको बताइएको थियो । उक्त घटनाको दुई वर्षभन्दा बढी समयपछि ममताकी पति नरेशविरुद्ध परेको प्रथम श्रेणीको हत्या सम्बन्धी मुद्दामा सोमबारदेखि औपचारिक सुनुवाइ सुरु हुन लागेको हो ।
प्रिन्स विलियम काउन्टी सर्किट कोर्टकी न्यायाधीश किम्बर्ली इरभिङको इजलासमा यस मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार जुरी चयन र साक्षी प्रमाणीकरणसहितको यो सुनुवाइ प्रक्रिया झन्डै सात हप्तासम्म चल्ने अनुमान गरिएको छ ।
सन् २०२४ अगस्टको सुरुमा ममता कार्यरत अस्पताल र साथीहरूले उनी बेपत्ता भएको खबर गरेपछि मानसस पार्क प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा नरेश भट्टको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले २०२४ अगस्ट २२ मा उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
ममताको शव भने अहिलेसम्म फेला पार्न सकिएको छैन । अनुसन्धान अधिकारीहरूले प्राप्त भौतिक प्रमाण, डिजिटल ट्रेस र घरको बाथरुम तथा शयनकक्षमा भेटिएका रगतका टाटाका आधारमा उनको हत्या भइसकेको निष्कर्ष निकालेका छन् ।
अहिलेसम्म शव बरामद नभए तापनि अभियोजन पक्षले नरेशविरुद्ध बलिया प्राविधिक तथा भौतिक प्रमाणहरू अदालतमा प्रस्तुत गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सुरुमा नरेशमाथि शव लुकाएको अभियोग लगाइएको थियो । त्यसपछि उनीमाथि हत्या र मृत शरीरको घोर अपमान/बेइज्जती गरेको थप अभियोग लगाइएको थियो ।
सन् २०२४ अगस्ट २ मा घरमा प्रहरी पुगेको तीन दिनपछि नरेशले आधिकारिक रूपमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए । ममता कार्यरत कार्यालयले उनको अवस्था बुझ्न प्रहरीलाई अनुरोध गरेपछि प्रहरी उनीहरूको घर पुगेको थियो ।
सरकारी वकिलहरूले यसअघि पनि उनीहरूबीच घरेलु हिंसाको इतिहास रहेको बताएका छन् । त्यसैले प्रहरीले अदालतमा डीएनएलगायत अन्य प्रमाणहरू पेश गर्ने अपेक्षा गरिएको छ ।
‘सबैभन्दा ठूलो र चासोको प्रश्न भनेको विपक्षी पक्षको बचाउ तर्क के हुनेछ भन्ने हो’, भर्जिनियाको वेस्टर्न डिस्ट्रिक्टका पूर्वअमेरिकी सरकारी वकिल जोन फिसविकले भने, ‘के उनीहरूले ‘हामीलाई उनी मरेकी छन् भन्ने थाहा छैन किनभने शव कहिल्यै भेटिएको छैन’ भन्ने तर्क गर्लान् ?’
ममताका आफन्तहरूले दुई वर्षभन्दा बढी समयदेखि न्यायको माग गर्दै आएका छन् ।
‘मेरो लागि न्याय भनेको श्रीमान् भट्टलाई कानुनको पूर्ण दायरामा ल्याएर कडा कारबाही हुनु हो’, ममताकी पूर्वसहकर्मी होली वर्थले स्थानीय सञ्चारमाध्यमलाई भनेकी छन्, ‘तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा ममताको परिवारले पाउनुपर्ने जवाफ पाउनु हो । हेदर कोर्टमा के भएको थियो भन्ने हामीलाई थाहा छैन । ममता कहाँ छिन् भन्ने पनि हामीलाई थाहा छैन । मलाई आशा छ, यी सात हप्ताको प्रक्रियाबाट उनीहरूले केही जवाफ पाउनेछन्, जसले उनीहरूलाई राहत र मनमा शान्ति दिलाउन सकोस् ।’
न्यायाधीश इरभिङले सञ्चारमाध्यमलाई अदालतभित्र क्यामेरा राखेर सुनुवाइ रेकर्ड गर्न र फोटो खिच्न अनुमति दिएकी छन् । प्रत्यक्ष प्रसारण गर्न भने नपाइने मुद्दाको सुनुवाइको रेकर्ड गरिएको भिडिओ तथा फोटोहरू पछि समाचारमा प्रयोग गर्न भने पाइने बताइएको छ ।
अभियोजन पक्षले घरको शयन कक्ष र बाथरुममा व्यापक रूपमा सफाइ गरिएको भए पनि लुमिनोल प्रविधि प्रयोग गर्दा भेटिएका रगतका टाटा र त्यसको डीएनए परीक्षण, ममता बेपत्ता हुनुअघि र पछि नरेशले गुगलमा गरेको शंकास्पद खोजीहरू, सामान खरिदका विवरण र फोनको लोकेसन डेटालाई मुख्य प्रमाणका रूपमा पेस गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पूर्वनेपाली सैनिक तथा अमेरिकामा पूर्वसैनिक ठेकेदारका रूपमा कार्यरत नरेशले भने सुरुदेखि नै आफू निर्दोष रहेको र ममता आफ्नै खुसीले छाडेर गएको दाबी गर्दै आएका छन् । यस घटनाका बेला नरेश र ममताको एक वर्षीया छोरी रहेकी छन् ।
आमा बेपत्ता र बुबा हिरासतमा पुगेपछि भर्जिनियाको सामाजिक सेवा विभागको संरक्षणमा रहेकी ती बालिकालाई पछि नेपालबाट अमेरिका पुगेका ममताका दाजु र आमाको जिम्मा लगाइएको थियो ।
-एजेन्सीहरुको सहयेगमा


विश्व खबर 



















