images
images
  •  डोल्पाबाट २ सय भेडाच्याङ्ग्रा पोखरा आइपुगे

    काठमाडौं – दसैँ नजिकिएसँगै हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा झर्न थालेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट तीन जना व्यापारीले २ सय भेडाच्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

    व्यापारी बुद्धिराम बोहराका अनुसार २३ दिनको यात्रा गरेर शनिबार पोखरा आइपुगेका भेडाच्याङ्ग्रा आइतबारदेखि पोखरा महानगरपालिका–१ जौबारी र याम्दी क्षेत्रमा बिक्रीका लागि राखिएको छ । यात्राकै क्रममा २० वटा भेडाच्याङ्ग्रा बिक्री भइसकेका छन् ।

    व्यापारीहरूले डोल्पाका विभिन्न स्थानबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको मूल्य २१ हजारदेखि ४३ हजार रुपैयाँसम्म तोकेका छन् । दसैँको मागलाई लक्षित गर्दै घटस्थापनाअघि नै पोखरा ल्याइएको व्यापारी मीनप्रसाद बोहराले बताए ।

    गत वर्ष ढिला गरी पोखरा ल्याउँदा बिक्रीमा समस्या भएको अनुभवपछि यस वर्ष चाँडै ल्याइएको उनले बताए । “गत वर्ष ढिला ल्याउँदा बेच्ने ठाउँ पनि पाइएन । बिक्री हुन पनि समय लाग्यो । यसपटक चाँडै बिक्री गरेर दसैँ मनाउन घर फर्किने योजना हो,” उनले भने ।

    दसैँका बेला हिमाली क्षेत्रबाट पोखरा भेडाच्याङ्ग्रा ल्याउने चलन पुरानै हो । लेकाली क्षेत्रमा चरिचरन गरेर हुर्काइएका भेडाच्याङ्ग्राको मासु दसैँमा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । स्थानीयका अनुसार हिमाली जडीबुटी तथा वनस्पति खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो हुने जनविश्वास छ ।

    डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगे पनि मुस्ताङ, मुगु, बझाङलगायत हिमाली जिल्लाबाट भने अझै भेडाच्याङ्ग्रा आउन बाँकी छ । दसैँ नजिकिँदै जाँदा पोखरामा भेडाच्याङ्ग्राको कारोबार थप बढ्ने व्यवसायीको आशा रहेकोछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images