images
images
  • कांग्रेस महाधिवेशन : आगामी चुनावमा कुनै दलसँंग गठबन्धन नगर्ने सभापति गगन थापाको प्रस्ताव

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशाको समीक्षा गर्दै कांग्रेसको पुनर्संरचना र नागरिकसँगको सम्बन्ध बलियो बनाउने प्रस्ताव गरेका छन् ।

    प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा पार्टीको मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरिएको छ ।

    गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक आधार कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता प्रभावित भएको उल्लेख छ ।

    आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति प्रस्ताव गरिएको छ ।

    आफ्नै चुनाव चिह्न, उम्मेदवार र एजेन्डासहित जनतामाझ जाने तथा उम्मेदवार छनोटमा गुट र पहुँचभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने भनिएको छ ।

    उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र सदस्यको प्रत्यक्ष मतलाई समेत महत्व दिने प्रस्ताव छ ।

    प्रतिवेदनमा फागुन २१ को निर्वाचनमा कांग्रेसको पराजयलाई नागरिकसँग बढ्दै गएको दूरी र राजनीतिक कमजोरीसँग जोडेर समीक्षा गरिएको छ ।

    ३८ सिटसहित संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, सरकारका कामकारबाहीलाई तथ्यका आधारमा प्रश्न गर्ने र भ्रष्टाचार, अधिकार हनन तथा कुशासनविरुद्ध खबरदारी गर्ने सभापति थापाले प्रस्ताव गरेका छन् ।

    त्यस्तै, आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई उत्पादन, लगानी, नवप्रवर्तन र रोजगारीको मुख्य आधारका रूपमा अघि बढाउने प्रस्ताव छ ।

    कृषि, उद्योग, पर्यटन, जलस्रोत, ऊर्जा र प्रविधिमा लगानी बढाउने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति प्रतिवेदनमा समेटिएको छ ।

    त्यसैगरी, शिक्षा, स्वास्थ्य, सीप, रोजगारी र वित्तीय पहुँचमा समान अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र अधिकारमुखी बनाउने तथा जलवायु परिवर्तनलाई आर्थिक र राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने प्रस्ताव गरिएको छ ।

    संघीयताको प्रभावकारिता बढाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुधार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

    पार्टी संगठन सुधारतर्फ कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोडिने संस्थाका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ ।

    युवा सहभागिता बढाउने, नेतृत्व विकासका लागि छुट्टै संस्था स्थापना गर्ने, नीति अनुसन्धान बलियो बनाउने र पार्टीभित्र पाँच पुस्ताबीच नेतृत्व हस्तान्तरणको बाटो खोल्ने योजना प्रतिवेदनमा छ ।

    पार्टीभित्र भ्रष्टाचार नियन्त्रणका लागि पदाधिकारी तथा जनप्रतिनिधिमा उच्च नैतिक मापदण्ड लागू गर्ने, वित्तीय पारदर्शिता र सार्वजनिक लेखापरीक्षण अनिवार्य गर्ने तथा भ्रष्टाचारको अभियोग लागेका व्यक्तिमाथि निलम्बन प्रक्रिया लागू गर्ने प्रस्ताव गरिएको छ ।

    न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धताको प्रस्तावसमेत प्रतिवेदनमा छ ।

    प्रतिवेदनमा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तथा निर्वाचनमा प्राथमिक निर्वाचन प्रणाली प्रयोग गर्ने प्रस्ताव पनि गरिएको छ ।

    साथै शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको शिक्षा र स्वास्थ्य सहयोगका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव छ ।

    समग्रमा, थापाको प्रतिवेदनले कांग्रेसको पुनर्जागरणलाई केवल नेतृत्व परिवर्तनमा सीमित नगरी राजनीतिक संस्कार, सुशासन, अर्थतन्त्र, रोजगारी, युवा सहभागिता, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र राष्ट्रिय स्वाधीनतासँग जोडेको छ ।

    ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई मूल अवधारणा बनाइएको प्रतिवेदनमा चार वर्षको नेतृत्व अवधिमा नीति र प्रतिबद्धताको कार्यान्वयनका आधारमा नियमित समीक्षा तथा मूल्यांकन गर्ने प्रणाली विकास गर्ने प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images