काठमाडौं – शिक्षकको योगदान, अधिकार र व्यावसायिक मर्यादाप्रति सम्मान व्यक्त गर्दै आज विश्वभर विश्व शिक्षक दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर ५ मा मनाइने यो दिवसले गुणस्तरीय र समावेशी शिक्षाका लागि योग्य तथा उत्प्रेरित शिक्षकको भूमिकालाई जोड दिँदै आएको छ ।
शिक्षकको स्थिति र अधिकारसम्बन्धी ऐतिहासिक सिफारिस पारित भएको दिनको स्मरणमा विश्व शिक्षक दिवस मनाउन थालिएको हो। सन् १९६६ अक्टोबर ५ मा युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजनामा शिक्षकको स्थिति सम्बन्धी सिफारिस पारित भएको थियो ।
युनेस्कोको आह्वानमा सन् १९९४ देखि अक्टोबर ५ लाई औपचारिक रूपमा विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो ।
दिवसले समाज र राष्ट्र निर्माणमा शिक्षकले पुर्याएको योगदानको कदर तथा सम्मान गर्नुका साथै शिक्षकका अधिकार, सुरक्षित कार्यस्थल, सेवा–सुविधा र व्यावसायिक क्षमता अभिवृद्धिका विषयमा विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्य राख्छ ।
त्यस्तै, सबैका लागि गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न सक्षम, योग्य र उत्प्रेरित शिक्षकको आवश्यकता औँल्याउनु पनि दिवसको प्रमुख उद्देश्य हो ।
विश्व शिक्षक दिवसका अवसरमा युनेस्को, विभिन्न देशका शिक्षा मन्त्रालय, शिक्षक संघ–संगठन तथा शैक्षिक संस्थाले शिक्षकको भूमिका र शिक्षाको अवस्थाबारे छलफल, अन्तरक्रिया तथा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । कतिपय मुलुकमा उत्कृष्ट शिक्षकलाई सम्मानसमेत गरिन्छ ।
शिक्षा प्रणालीको गुणस्तर शिक्षकको क्षमता, कार्यपरिस्थिति र सम्मानसँग प्रत्यक्ष जोडिने भएकाले शिक्षक दिवसलाई शिक्षकको योगदानको उत्सवसँगै उनीहरूका अधिकार र पेशागत सुरक्षाबारे पुनर्विचार गर्ने अवसरका रूपमा पनि लिइन्छ ।


विश्व खबर 



















