काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ठूलो रकम खिच्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले ब्याजदरसमेत प्रस्ताव गर्न सक्नेछन् । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
निक्षेप संकलन उपकरणका लागि आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गरिएको रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ ।
केन्द्रीय बैंकले २८ दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा कर्जाको मागको तुलनामा निक्षेप तथा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । प्रणालीमा रहेको अतिरिक्त तरलता खिचेर ब्याजदर तथा वित्तीय प्रणालीमा तरलताको सन्तुलन कायम गर्ने उद्देश्यले यस्तो उपकरण प्रयोग गरिन्छ ।


विश्व खबर 
















