images
images
  • कुमारी बैंक र महिला उद्यमी महासंघबीच सहकार्य, महिला उद्यमीलाई वित्तीय पहुँचदेखि बजारसम्म सहयोग

    काठमाडौं – महिला उद्यमीको आर्थिक सशक्तीकरण, दिगो वित्त तथा उद्यम विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य भएको छ । दुवै संस्थाले महिला नेतृत्वमा सञ्चालित व्यवसायलाई वित्तीय तथा व्यावसायिक रूपमा सबल बनाउने लक्ष्यसहित सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । बैंक र महासंघबीचको यो सहकार्यले महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    सम्झौताअनुसार महिला उद्यमीलाई जिम्मेवार वित्तमा पहुँच विस्तार, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा प्राथमिकता दिइनेछ ।

    महिला नेतृत्वका व्यवसायले भोग्दै आएका वित्तीय चुनौतीलाई सम्बोधन गर्न नयाँ वित्तीय उपायको सम्भावनासमेत खोजिने बैंकले जनाएको छ । यसअन्तर्गत नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रको प्रयोगबारे समेत काम गरिनेछ ।

    कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले सहकार्यले समावेशी तथा दिगो वित्त प्रवर्द्धन गर्दै महिला उद्यमीको वित्त, बजार र ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए ।

    उनका अनुसार महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गरी महिला नेतृत्वका व्यवसायलाई वित्तीय रूपमा सक्षम, उत्थानशील र विकासमुखी बनाउन सहयोग गर्ने लक्ष्य राखिएको छ । आर्थिक अवसरमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै थप समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सहकार्य अघि बढाइएको उनले बताए ।

    सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा विभिन्न सरोकारवालासँगको सहभागिताका लागि आवश्यक संयन्त्र विकास गरिनेछ । उद्यम विस्तार, वित्तीय पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा अघि बढाइनेछ ।

    महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यले देशभरका महिला उद्यमी तथा महिला नेतृत्वका व्यवसायका लागि व्यवहारमा लागू गर्न सकिने, विस्तार गर्न सकिने र दीर्घकालीन अवसर सिर्जना गर्ने बैंकले जनाएको छ ।

    ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै आएको कुमारी बैंकले यस सहकार्यलाई नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो योगदान थप विस्तार गर्ने अवसरका रूपमा लिएको छ । बैंकका अनुसार महिला नेतृत्वमा रहेका हरित उद्यमको विकास, सुदृढ मूल्य शृङ्खला निर्माण, रोजगारीका अवसर विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा सहकार्यले योगदान पुर्‍याउनेछ ।

    देशभर फैलिएको बैंकिङ सञ्जालमार्फत लक्षित समुदायमा यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन र विस्तार गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार हाल उससँग २७९ शाखा, ४१ विस्तारित काउन्टर, २९४ एटिएम, ४० शाखारहित बैंकिङ एकाइ तथा एक हजार दुई सयभन्दा बढी बिक्री केन्द्र सञ्चालनमा छन् ।

    डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, अन्तर्राष्ट्रिय कार्डलगायत आधुनिक बैंकिङ सेवामार्फत सेवाको पहुँच विस्तार गर्दै समावेशी, उत्थानशील र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images