images
images
  • प्रभु बैंकका सीईओ शर्मा फोर्स लिभमा, राज रिमाललाई कार्यवाहक सीईओको जिम्मेवारी

    काठमाडौं – प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा फोर्स लिभमा बसेपछि बैंकका डीजीएम तथा चिफ बिजनेस अफिसर राज रिमाललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिइएको छ ।

    शर्माविरुद्ध फौजदारी मुद्दा दायर भई कानुनी प्रक्रिया अघि बढेपछि उनी बिदामा बसेका हुन् । सीईओको अनुपस्थितिका कारण बैंकको दैनिक प्रशासनिक, व्यावसायिक तथा व्यवस्थापकीय काम प्रभावित नहोस् भन्ने उद्देश्यले रिमाललाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको बैंक स्रोतले जनाएको छ ।

    हालै मात्र प्रभु बैंकमा प्रवेश गरेका रिमाललाई सीईओको अनुपस्थितिमा बैंकको नियमित सञ्चालन, व्यवस्थापन र आवश्यक निर्णय प्रक्रियालाई निरन्तरता दिने जिम्मेवारी दिइएको हो ।

    तत्कालीन सनराइज बैंकको कर्जा प्रकरणमा मुद्दा

    शर्माविरुद्धको कानुनी प्रक्रिया तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा प्रकरणसँग जोडिएको छ ।

    अञ्जली इन्टरनेसनलले पर्सा जिल्ला अदालतमा दायर गरेको फौजदारी मुद्दामा तत्कालीन सनराइज बैंकका सीईओसहित तीन जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।

    मुद्दामा तत्कालीन सनराइज बैंकका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई समेत प्रतिवादी बनाइएको छ ।

    उजुरीअनुसार धितो रोक्का गरी बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको भए पनि स्वीकृत कर्जा उपलब्ध नगराएको दाबी गरिएको छ । सोही विषयलाई लिएर ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको हो ।

    सरकारी वकिल कार्यालयले प्रतिवादीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगीको कसुरमा सजाय माग गरेको छ । त्यस्तै दफा २५२ अन्तर्गत आपराधिक विश्वासघातको कसुरमा समेत सजायको माग गरिएको छ ।

    यद्यपि मुद्दामा आरोप लाग्दैमा कसुर प्रमाणित भएको मानिँदैन । सम्बन्धित प्रतिवादीहरूले अदालतसमक्ष आफ्नो कानुनी प्रतिरक्षा गर्ने अधिकार राख्छन् र अन्तिम निर्णय अदालतबाट हुने छ ।

    सीईओमाथि कानुनी प्रक्रिया, बैंकमा नेतृत्व परिवर्तन

    सीईओमाथि नै कानुनी प्रक्रिया अघि बढेपछि प्रभु बैंकको नेतृत्व संरचनामा तत्कालका लागि कार्यवाहक व्यवस्था गरिएको हो ।

    बैंकको प्रमुख कार्यकारी अधिकृतले समग्र व्यवस्थापन, व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, नियामकीय अनुपालन तथा दैनिक सञ्चालनको नेतृत्व गर्ने भएकाले पदाधिकारीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी तोक्नु संस्थाको नियमित सञ्चालनका लागि महत्वपूर्ण मानिन्छ ।

    रिमालले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेसँगै बैंकको नियमित कारोबार, निक्षेप तथा कर्जा व्यवस्थापन, कर्मचारी प्रशासन, नियामकीय निकायसँगको समन्वय तथा दैनिक व्यावसायिक निर्णय प्रक्रियालाई निरन्तरता दिनेछन् ।

    फौजदारी मुद्दा परेपछि स्वतः निलम्बन हुने व्यवस्था

    प्रभु बैंकको स्वीकृत कर्मचारी विनियमावलीमा फौजदारी अभियोगसम्बन्धी स्पष्ट व्यवस्था रहेको देखिन्छ ।

    विनियमावलीमा राज्यको कुनै निकायले कुनै कर्मचारीविरुद्ध प्रचलित नेपाली कानुनबमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिने व्यवस्था गरिएको छ ।

    विनियमावलीमा भनिएको छ, ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेमा त्यसरी थुनामा रहेको अवधिभर तथा राज्यको कुनै पनि निकायले कर्मचारीविरुद्ध प्रचलित नेपाल कानुन बमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिनेछ ।’

    यही व्यवस्थाका कारण शर्मा तत्काल बैंकको नियमित कार्यकारी भूमिकामा फर्किने विषयमा कानुनी तथा संस्थागत जटिलता देखिएको छ ।

    यसअघि पनि बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ अधिकारीविरुद्ध फौजदारी मुद्दा दायर भएपछि निलम्बनमा परेका उदाहरण छन् । कतिपय अवस्थामा अदालतबाट धरौटीमा छुटे पनि सम्बन्धित बैंकले तत्काल पुनर्बहाली नगरेका दृष्टान्तसमेत छन् ।

    अब प्रभु बैंकको नयाँ सीईओ को ?

    शर्मा बैंकको नियमित कार्यकारी भूमिकामा फर्किने विषय अनिश्चित बन्दै गएसँगै प्रभु बैंकमा अब नयाँ सीईओको सम्भावित उत्तराधिकारीबारे चर्चा सुरु भएको छ ।

    तत्कालका लागि रिमालले कार्यवाहक सीईओको जिम्मेवारी सम्हाले पनि दीर्घकालीन रूपमा बैंकले नयाँ सीईओ नियुक्त गर्नुपर्ने अवस्था आएमा सञ्चालक समितिले उपयुक्त उम्मेदवारको छनोट प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।

    यससँगै ‘प्रभु बैंकको नयाँ सीईओ को बन्ला ?’ भन्ने प्रश्न बैंकिङ क्षेत्रमा चासोको विषय बनेको छ ।

    उता, बैंकको उच्च व्यवस्थापनमा आएको आकस्मिक परिवर्तनले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र नियामकीय अनुपालनको अवस्थामाथि समेत प्रश्न उठाएको छ ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति र व्यवस्थापनबीचको स्पष्ट जिम्मेवारी, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुशासनलाई विशेष महत्व दिँदै आएको छ । यस्तो अवस्थामा बैंकको शीर्ष व्यवस्थापनमा आएको परिवर्तनलाई बैंकको संस्थागत सुशासनको दृष्टिले समेत महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

    अब प्रभु बैंकको सञ्चालक समितिले नेतृत्व परिवर्तनलाई कसरी व्यवस्थापन गर्छ र दीर्घकालीन रूपमा बैंकको कार्यकारी नेतृत्व कसलाई सुम्पिन्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images