काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगद सहायता दिन लागिएको हो ।
नेपाल रेडक्रस सोसाइटी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबीच ‘समुन्नति कार्यक्रम’मार्फत प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मंगलबार सम्झौतामा हस्ताक्षर गरेको हो । कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनाल तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) नेपाल प्रमुख डेभिड फिसरको समेत उपस्थिति थियो ।
सम्झौताअनुसार बाढी प्रभावित लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराइनेछ । नेपाल रेडक्रसका महामन्त्री खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा लाभग्राही पहिचान र प्रमाणीकरण गरिनेछ ।
बाढीबाट करिब छ हजार परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । लाभग्राही पहिचान भएपछि रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिनेछ । यसले सहायता वितरणलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने रेडक्रसको धारणा रहेको छ ।
प्राप्त रकम प्रभावित परिवारले आफ्ना प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनमा खर्च गर्न सक्नेछन् ।
नगद सहायता वितरणमा विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ । महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसहित विशेष आवश्यकता भएका व्यक्ति र परिवारलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
सम्झौताअनुसार मन्त्रालयले कार्यक्रमको नीतिगत निर्देशन, अनुगमन तथा समन्वय गर्नेछ। सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान तथा प्रमाणीकरणमा सहयोग गर्नेछन् भने नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँगको समन्वय, अनुगमन र जवाफदेहितासम्बन्धी काम गर्नेछ।
‘समुन्नति कार्यक्रम’मार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह र विपद् प्रभावित परिवारलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता जारी
नेपाल रेडक्रसले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीपछि सुरु गरेको मानवीय सहायता निरन्तर रहेको जनाएको छ । रेडक्रसका महामन्त्री खनालले बाढीलगत्तैदेखि प्रभावित क्षेत्रमा तत्कालीन आवश्यकता पूरा गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै सहायता उपलब्ध गराउँदै आएको जानकारी दिए ।
आइएफआरसी नेपाल प्रमुख फिसरले बाढी प्रतिकार्यका लागि अन्तर्राष्ट्रियस्तरमा सहयोगको अपिल गरिएको र त्यसअनुसार आर्थिक सहयोग प्राप्त भइरहेको बताए। प्रभावित क्षेत्रमा मानवीय सहायता तथा प्रतिकार्यका गतिविधि निरन्तर सञ्चालन हुने उनले जानकारी दिए ।
यसैगरी, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउन तथा बेपत्ता व्यक्तिका परिवारलाई खोजी प्रक्रियामा सहयोग गर्न नेपाल रेडक्रससँग सहकार्य भइरहेको बताए ।
बाढीपछिको पुनर्लाभलाई लक्षित गर्दै आगामी तीन महिनाका लागि आवश्यक कार्ययोजनासमेत तयार गरिएको छ । नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण, सामुदायिक संलग्नता तथा जवाफदेहिता, लैङ्गिक समानता र समावेशीकरणलगायतका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।


विश्व खबर 



















