काठमाडौं — बाजुराको स्वामिकार्तिक गाउँपालिका–१० का भोलाराम जैसीले परम्परागत खेतीभन्दा फरक व्यावसायिक कृषि सुरु गरेर ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । तीन वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका जैसीले हाल पाँच रोपनी जमिनमा एक हजार चार सय बिरुवा लगाएको छ ।
गाउँमै उपलब्ध जमिन र स्थानीय स्रोतसाधनको उपयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जैसीले प्रस्तुत बताए गरे छ। उहाँले ड्रागन फ्रुट बिक्रीबाट वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।
विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय सञ्चालन गरेका जैसी त्यसपछि गाउँ फर्किएका थिए । गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी कुखुरापालनसँगै तरकारीखेती सुरु गरे । कृषि तथा पशुपालनमा केही वर्ष बिताएपछि नयाँ र फरक किसिमको व्यावसायिक खेती गर्ने सोच आएपछि उ ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए ।
“केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भन्नुभयो, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुट खेती सुरु गरेँ ।”
सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाउनुभएका जैसीले उत्पादन राम्रो हुन थालेपछि खेती विस्तार गर्नुभएको हो। हाल उहाँको पाँच रोपनी क्षेत्रफलमा एक हजार चार सय ड्रागन फ्रुटका बिरुवा छन् ।
ड्रागन फ्रुटका बिरुवाले रोपेको करिब दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ। गत वर्ष करिब छ क्विन्टल फल बिक्री गर्नुभएका उनले यस वर्ष उत्पादन उल्लेख्य बढेको बताए।
“जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उहाँले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो। यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु। अझै केही फल पाक्ने क्रममा छ।”
उत्पादित ड्रागन फ्रुट बिक्रीका लागि बजारको समस्या नरहेको जैसीको भनाइ छ। उहाँले मार्तडी बजारका साथै अछामको साँफेबगरसम्म पुर्याएर फल बिक्री गर्दै आएको छ ।
उत्पादन बढ्दै गएसँगै आम्दानी पनि बढाउन सकिने उ बताउनुहुन्छ। राम्रो मलजल र व्यवस्थापन गर्न सके ड्रागन फ्रुटको एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्ने उनको भनाइ छ ।
“ड्रागन खेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” जैसीले भन्नुभयो, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन। गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ।”
जैसीको ड्रागन फ्रुट खेती अहिले बाजुरामा व्यावसायिक कृषिको सम्भावनाको उदाहरण बनेको छ। जिल्लामै ठूलो क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्ने उहाँ पहिलो कृषक हुनुहुन्छ। जिल्लाका अन्य स्थानमा केही वर्षअघि खेती सुरु गरिए पनि व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन।
बाजुरामा कृषियोग्य जमिन पर्याप्त भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ। जिल्लाको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन। वर्षभरि लगाएको उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने अवस्था रहेको किसानहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागन फ्रुट खेती सुरु गर्न सहयोग गरिएको थियो ।
केन्द्रकी बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार समुद्री सतहबाट १०० देखि एक हजार पाँच सय मिटर उचाइसम्म ड्रागन फ्रुट खेती गर्न सकिन्छ ।
“नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उहाँले भन्नुभयो, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”
बाजुरामा सिँचाइको अभाव र परम्परागत कृषि प्रणालीका कारण किसानले अपेक्षित आम्दानी गर्न नसकिरहेका बेला ड्रागन फ्रुटजस्ता वैकल्पिक तथा उच्च मूल्यका बालीको व्यावसायिक विस्तारले स्थानीय कृषकको आयआर्जन बढाउन सक्ने सम्भावना देखिएको छ ।


विश्व खबर 



















