काठमाडौं – सरकारले निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरेको छ। सरकारले सोमबार साँझ गोप्य सूचना अनधिकृत रूपमा चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेको हो।
दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेल रहेको एक सदस्यीय छानबिन समिति गठन गरेको हो।
मन्त्रालयले समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समयावधि दिएको छ। समितिलाई सशस्त्र प्रहरी नियमावलीको सम्बन्धित दफा तोकेरै छानबिनको जिम्मेवारी दिइएको छ।
दाहालमाथि गोप्य सूचना चुहाएको तथा विभिन्न व्यक्तिसँग सम्पर्क राखेको आरोप छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए।
दाहाल यसअघि सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए।
यसैबीच गृहमन्त्री सुधन गुरुङले भने राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट सन्देश दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत गोपनीयताको जिम्मेवारी पाएका व्यक्तिले जानाजान देश र संगठनप्रति विश्वासघात गरे कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।


विश्व खबर 



















