काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको पदाधिकारी संरचना विस्तार गर्ने तयारी गरेको छ ।
सभापति गगन थापाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै विभिन्न समूह र नेताहरूलाई व्यवस्थापन गर्न पाँच नयाँ पदाधिकारी थप्ने प्रस्ताव अघि बढाएका हुन् ।
विधान संशोधन समितिले एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री थप्ने प्रस्ताव तयार पारेको छ ।
समितिका सदस्य ईश्वरी न्यौपानेका अनुसार सभापति थापासँग आवश्यक छलफल गरेपछि प्रस्तावलाई अन्तिम रूप दिई महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ ।
विश्वप्रकाशलाई वरिष्ठ उपसभापति बनाउने तयारी
प्रस्तावित नयाँ संरचनाअनुसार हालका उपसभापति विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।
त्यस्तै, पुष्पा भुसाललाई उपसभापतिमै निरन्तरता दिने सम्भावना रहेको नेताहरूले बताएका छन् ।
हालका महामन्त्रीमध्ये एक जनालाई उपसभापतिमा लैजाने विकल्पमा समेत पार्टीभित्र छलफल भइरहेको छ ।
डिनालाई महिला महामन्त्री बनाउने तयारी
महिला महामन्त्रीका रूपमा पूर्वसह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई अघि बढाउने तयारी रहेको कांग्रेस नेताहरूको भनाइ छ ।
कांग्रेसले पदाधिकारी संरचनामा महिला सहभागिता बढाउने उद्देश्यसहित महिला उपसभापति र महिला महामन्त्रीको नयाँ पद सिर्जना गर्ने प्रस्ताव अघि सारेको हो ।
जीवन शाही र महेन्द्र यादवको व्यवस्थापनको सम्भावना
खुलातर्फ थपिने दुई सहमहामन्त्री पदमा जीवन शाही र महेन्द्र यादवलाई व्यवस्थापन गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको एक कांग्रेस पदाधिकारीले बताएका छन् ।
कांग्रेसमा सहमहामन्त्रीको संख्या १३ पुर्याउने तयारी छ ।
नयाँ संरचनाअनुसार केही वर्तमान पदाधिकारीले निरन्तरता पाउने र केही नयाँ नेताहरू प्रतिस्पर्धा तथा मनोनयनमार्फत पदाधिकारीमा आउने सम्भावना रहेको नेताहरूले बताएका छन् ।
विभिन्न समूहका नेताको व्यवस्थापन चुनौती
विशेष महाधिवेशनपछि कांग्रेसमा समाहित भएका तथा विभिन्न समूहबाट आएका नेताहरूको व्यवस्थापन सभापति थापाका लागि अर्को चुनौती बनेको छ ।
नैनसिंह महर, किशोरसिंह राठौर, भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारीलगायत नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ ।
नेतृत्वले पदाधिकारीको संख्या र जिम्मेवारीमा हेरफेरमार्फत विभिन्न समूहलाई समेट्ने प्रयास गरे पनि सबै आकांक्षीलाई व्यवस्थापन गर्न सहज नहुने देखिएको छ ।
सभापति र वरिष्ठ उपसभापति सर्वसम्मत गराउने प्रयास
कांग्रेसमा सभापति गगन थापा र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मालाई सर्वसम्मत गराउने प्रयास भइरहेको बताइएको छ ।
यद्यपि, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका पदमा भने चुनावी प्रतिस्पर्धा हुने सम्भावना कायमै छ ।
विधान संशोधन समितिको प्रस्ताव सभापति थापासँगको छलफलपछि अन्तिम रूप लिनेछ ।
त्यसपछि बन्दसत्रमा प्रस्ताव प्रस्तुत गरी पारित भएमा कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ पदाधिकारी संरचना कार्यान्वयनमा आउनेछ ।


विश्व खबर 



















