काठमाडौं – भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । अनुमति नवीकरण भएसँगै वर्षायाममा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात रोकिने तत्कालको जोखिम टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भारतले माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो दोर्दी ‘ए’ र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि अनुमति नवीकरण गरेको हो ।
नवीकरण गरिएको अनुमतिअनुसार माथिल्लो चमेलियाबाट ३८.८ मेगावाट, सेती नदीबाट २४.२५ मेगावाट, माथिल्लो दोर्दी ‘ए’ बाट २४.२५ मेगावाट र माथिल्लो तादीखोलाबाट १०.७० मेगावाट विद्युत् भारत निर्यात गर्न सकिनेछ ।
यी आयोजनाको विद्युत् निर्यात अनुमति गत जुनदेखि अगस्टबीच समाप्त भएको थियो । मुख्य निर्यात सिजनमै भारतले गत साता अनुमति नवीकरण गरेको जानकारी दिएपछि अब विद्युत् निर्यात प्रक्रिया सहज रूपमा अघि बढ्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार नेपालले अहिले पनि भारततर्फ दैनिक औसत ६०० मेगावाट विद्युत् निर्यात गरिरहेको छ । वर्षायाममा आन्तरिक खपतपछि बचत भएको विद्युत् नेपालले भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ भने हिउँदमा भारतबाट विद्युत् आयात गर्ने गरेको छ ।
तर, विद्युत् खरिद तथा बिक्री दुवैका लागि हरेक वर्ष भारतबाट अनुमति नवीकरण गर्नुपर्ने व्यवस्थाका कारण नेपालको ऊर्जा व्यापार भारतीय नीतिमा निर्भर रहँदै आएको छ । यसअघि भारतले आगामी पुससम्मका लागि ढल्केबर–मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत ६५४ मेगावाट विद्युत् आयातको अनुमति नवीकरण गरे पनि नेपालबाट हुने निर्यातको अनुमति नवीकरणमा ढिलाइ गरेको थियो ।
बाढीपहिरोले निर्यात प्रभावित
निर्यात अनुमति नवीकरण भए पनि भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पछिल्लो बाढीपहिरोका कारण नेपालको समग्र विद्युत् निर्यात प्रभावित भएको छ ।
बाढीपहिरोबाट भारत र बंगलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति पाएका त्रिशूली, चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।
बंगलादेशतर्फको निर्यातलाई निरन्तरता दिन प्राधिकरणले दोर्दी करिडोरका अन्य आयोजनाबाट उत्पादित विद्युत् भारत हुँदै बंगलादेश निर्यात गर्ने विषयमा भारतसँग छलफल गरिरहेको छ ।
क्षतिग्रस्त देवीघाट आयोजनाको विकल्पमा भारतको खुला बजारमा विद्युत् बिक्रीका लागि स्वीकृति पाइसकेको तल्लो मोदी आयोजनाबाट उत्पादित विद्युत् द्विपक्षीय सम्झौतामार्फत निर्यात गर्न प्राधिकरणले भारतसँग अनुमति मागेको छ। तर, त्यसका लागि भारतबाट हालसम्म स्वीकृति प्राप्त भएको छैन ।
त्यस्तै, काबेली बी–१ र सोलुखोला आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न पनि भारतको अनुमति प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
हालसम्म नेपालले ३७ वटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल १ हजार २०० मेगावाट विद्युत् भारत तथा बंगलादेशमा निर्यात गर्न अनुमति पाएको छ । तर, पछिल्लो बाढीपहिरोबाट करिब ४३० मेगावाट क्षमताका विभिन्न आयोजनामा क्षति पुगेपछि उत्पादन ठप्प हुँदा भदौ महिनामा नेपालको विद्युत् निर्यात परिमाण घटेको प्राधिकरणले जनाएको छ ।


विश्व खबर 



















