काठमाडौं-गुण एयरलाइन्सलाई प्रवाह गरिएको १५ करोड रुपैयाँ कर्जा प्रकरणमा प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन कारागार चलान भएका छन्।
उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा शेरचनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। बैंकको सञ्चालक समितिको पूर्वस्वीकृतिबिना गुण एयरलाइन्सलाई कर्जा प्रवाह गरिएको र उक्त कर्जाको रकम अन्य प्रयोजनमा प्रयोग भएको अभियोगमा उनीमाथि मुद्दा चलेको हो।
अनुसन्धानका अनुसार २०७८ असोज ६ गते गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ‘ब्रिज ग्याप लोन’ दिइएको थियो। कर्जा जहाजको इन्जिन मर्मत तथा सञ्चालन खर्चका लागि भनिए पनि रकमको प्रयोगमाथि अनुसन्धान गर्दा अर्को तस्वीर देखिएको अभियोगपत्रमा उल्लेख छ।
गुण एयरलाइन्सको खाताबाट प्रभु म्यानेजमेन्टतर्फ
अनुसन्धानअनुसार प्रभु बैंकबाट गुण एयरलाइन्सका नाममा प्रवाह भएको १५ करोड रुपैयाँ नेपाल फाइनान्समा रहेको सम्बन्धित खातामा पुगेको थियो। त्यसपछि रकम प्रभु म्यानेजमेन्टको खातामा स्थानान्तरण भएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।
प्रभु म्यानेजमेन्टसँग प्रभु बैंकको रेमिट्यान्स कारोबारका क्रममा करिब २७ करोड रुपैयाँ बराबरको पुरानो पेश्की बाँकी रहेको अनुसन्धानमा देखिएको थियो।
त्यही पुरानो दायित्व मिलाउन गुण एयरलाइन्सका नाममा नयाँ कर्जा प्रवाह गरिएको अभियोग अनुसन्धान पक्षले गरेको छ।
यसरी कागजमा गुण एयरलाइन्स ऋणी देखिए पनि कर्जाको रकम अन्ततः प्रभु म्यानेजमेन्टको पुरानो दायित्व व्यवस्थापनमा प्रयोग भएको अनुसन्धानको निष्कर्ष छ।
२७ करोडको पुरानो हिसाब
अनुसन्धानमा प्रभु म्यानेजमेन्टले प्रभु बैंकसँगको कारोबारका क्रममा लिएको ठूलो रकम लामो समयसम्म सेटल नभएको उल्लेख छ।
करिब २७ करोड रुपैयाँ बराबरको उक्त रकम लामो समयसम्म बाँकी रहँदा पनि त्यसको उचित व्यवस्थापन तथा असुली हुन नसकेको अनुसन्धानमा देखिएको छ।
नेपाल राष्ट्र बैंकको निरीक्षणका क्रममा समेत रकम असुली तथा व्यवस्थापनका लागि निर्देशन दिइएको बताइएको छ।
तर त्यसपछि नयाँ ऋणीका रूपमा गुण एयरलाइन्सलाई अगाडि सारेर १५ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको अनुसन्धानको दाबी छ।
१५ करोडपछि फेरि २७ करोड
प्रकरण यतिमै रोकिँदैन। अनुसन्धानका अनुसार प्रभु म्यानेजमेन्टको पुरानो दायित्व व्यवस्थापनपछि सिर्जना भएको नयाँ दायित्वलाई सम्बोधन गर्न फेरि २७ करोड रुपैयाँको ‘ब्रिज ग्याप लोन’ प्रवाह गरिएको थियो।
उक्त रकममध्ये करिब १५ करोड रुपैयाँ गुण एयरलाइन्स वा सम्बन्धित खातातर्फ र करिब १२ करोड रुपैयाँ दिव्य सेक्युरिटिजतर्फ गएको अनुसन्धानमा उल्लेख छ।
यसरी अनुसन्धानले देखाएको पैसाको प्रवाहमा गुण एयरलाइन्स, प्रभु म्यानेजमेन्ट र दिव्य सेक्युरिटिजबीचको कारोबार महत्वपूर्ण देखिएको छ।
शेरचनको बयान : बोर्डको मौखिक निर्देशन थियो
पूर्वसीईओ शेरचनले भने आफूले प्रक्रिया मिचेर व्यक्तिगत स्वार्थमा कर्जा प्रवाह नगरेको दाबी गरेका छन्।
उनले तत्काल सञ्चालक समितिको बैठक बस्न सम्भव नभएका कारण मौखिक निर्देशनमा कर्जा स्वीकृत गरिएको र पछि बसेको सञ्चालक समितिको बैठकबाट त्यसलाई अनुमोदन गरिएको बयान दिएका छन्।
गुण एयरलाइन्स बैंकको नियमित ऋणी रहेको र कर्जा कम्पनीको सञ्चालन प्रयोजनका लागि माग गरिएको उनको दाबी छ।
कर्जा प्रवाह भएपछि रकमको प्रयोग कसरी भयो भन्ने विषय ऋणी कम्पनीको जिम्मेवारी भएको पनि उनले बयानमा उल्लेख गरेको बताइएको छ।
राष्ट्र बैंक र प्रहरी अनुसन्धान अदालतमा
शेरचनलाई पुर्पक्षका लागि कारागार पठाउने क्रममा अदालतले नेपाल राष्ट्र बैंकको प्रतिवेदन, प्रहरी अनुसन्धान, सम्बन्धित व्यक्तिहरूको बयान तथा अन्य उपलब्ध प्रमाणलाई आधार मानेको छ।
अनुसन्धान पक्षले कर्जा स्वीकृति तथा रकमको प्रयोगमा बैंकिङ कानुन र बैंकको आन्तरिक प्रक्रियाको उल्लंघन भएको दाबी गरेको छ।
यसै प्रकरणमा सरकारी वकिलको कार्यालयले शेरचनसहित सात जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेको छ। अभियोगमा करिब २० करोड १७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।


विश्व खबर 



















