सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ।
सो दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।
आज बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट नदीमा खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। दुर्घटनामा घाइते भएका चालकसहित चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको थियो।
घाइते हुनेहरूमा ओखलढुंगाका २९ वर्षीय चालक आशीष बिष्ट, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। उनीहरू चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पतालतर्फ पठाइएको छ।
चालकका अनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ।























