काठमाडौं– विद्यालयहरूमा भोग्नुपरेका कठिनाइ र बढ्दो जीवनयापन लागतविरुद्ध शनिबार फ्रान्स भरि प्रदर्शनहरू भएका छन्, जसका क्रममा हिंसा भड्कियो।
फ्रान्सेली सरकारले हिंसामा वृद्धि भएको बताएको यस घटनाक्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् । उक्त आन्दोलनको क्रममा करिब ५ लाख ५० हजार मानिसहरू सडकमा उत्रिएका थिए।
पेरिसमा साँझसम्मै दंगा नियन्त्रण प्रहरी र प्रदर्शनकारीहरूबीच ठूलो झडप भएको छ । प्रहरीले भीडलाई तितरबितर पार्न अँश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।
राजधानी र अन्य क्षेत्रहरूमा भवनहरूमा आगजनी गरिएका छ । लिमोज सहरमा त नगर भवन (टाउन हल) मा भीषण आगलागी हुँदा भवनको छानो आंशिक रूपमा भत्कियो । विभिन्न सहरहरूमा लुटपाट मच्चिएको प्रहरीले जनाएको छ । साथै नगर भवनहरू र व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी व्यापक तोडफोडका घटनाहरू भएको समाचारहरुमा उल्लेख गरिएका छन् ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बताएअनुसार अशान्तिका क्रममा १५० जना प्रहरी अधिकारीहरू घाइते भएका छन्।
पेरिसमा दिउँसोको समयमा निकालिएको मुख्य जुलुस धेरै हदसम्म शान्तिपूर्ण देखिएको थियो । युवाहरूको एउटा समूहले बीबीसीलाई आफूहरू ‘शान्तिवादी’ भएको बताउँदै भने, ‘हामी केवल परिवर्तन ल्याउने प्रयास गरिरहेका छौं, कुनै प्रगति भइरहेको छैन।’
तर दिन बित्दै जाँदा केही समूहहरूले सडकमा आगो बाले र सवारीसाधनहरू जलाए । यसमा सहरको केन्द्रभागमा रहेको ‘प्लास द ला रिपब्लिक’ जस्ता प्रतिष्ठित स्थानहरू पनि समावेश थिए ।

पसलहरूमा तोडफोड र लुटपाट गरियो, कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भयो। पेरिसको मध्यभागमा दंगा नियन्त्रण प्रहरीले मानिसहरूको एक समूहलाई लखेट्दै लाठी प्रहार गरिरहेको देखियो।
लियोनमा, मेयर ग्रेगोरी डुसेटले सहरको पर्यटन कार्यालयमा लगाइएको आगोलाई सहरका लागि ‘एउटा त्रासदी’ भन्दै बीएफएमटीभीलाई बताए, ‘यसले हाम्रो मन टुक्रा–टुक्रा पारेको छ । किनकि यो एक अत्यन्तै विशिष्ट र प्रख्यात ऐतिहासिक भवन हो।’
स्थानीय प्रहरीका अनुसार विद्रोही वा आक्रमणकारी व्यक्तिहरूले दमकलकर्मीहरूलाई सुरक्षित रूपमा आगो निभाउने काम गर्नबाट रोकेका थिए । लिमोज सहरको नगर भवनमा पनि आगो लागेको थियो, जसलाई निभाउन दमकलकर्मीहरूले संघर्ष गरे । स्थानीय प्रशासनका अनुसार यस घटनाका कारण भवनको केही भाग भत्किएको छ।
दक्षिण-पूर्वी सहर सेन्ट-एटिएनमा एक युवकको ग्रेनेड विस्फोटमा परेर हात उडेको छ। सहरका मेयर रेजिस जुआनिकोले सामाजिक सञ्जालमा यो जानकारी दिँदै भने, ‘यस्तो त्रासदी कहिल्यै हुँदैनथ्यो।’
गृह मन्त्रालयका अनुसार राजधानीका केही भागका साथै मार्से, रेनेस, टुलुज र एन्जर्स जस्ता सहरहरूमा अनुहार छोपेका व्यक्तिहरूद्वारा लक्षित हिंसात्मक गतिविधिहरू भएका छन्। ग्रिनोबल, एभिन्योन, पाउ, मोन्टपेलियर र भ्यालेन्स लगायत फ्रान्सका विभिन्न सहरहरूमा भवनहरूमा क्षति पुगेको खबर छ।
पेरिसमा कपडा र खाद्य पसलहरूमा लुटपाट भयो, जबकि लिल सहरमा रहेको एप्पल स्टोरको ढोका फोडेर त्यहाँका सामानहरू निकालिए। बीबीसी भेरिफाईद्वारा पुष्टि गरिएको फुटेजमा, ग्रिनोबल सहरको केन्द्रमा अनुहार छोपेका मानिसहरूले एउटा पर्यटक रेल चलाउँदै कम्तीमा तीन जना दंगा नियन्त्रण प्रहरी तर्फ लगिरहेको देखिन्छ।






















