images
images
  • दसैंमा मासु र मदिरा सेवन गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान

    काठमाडौं– चाडपर्वमा जथाभावी मासु र मदिरा सेवनले स्वास्थ्यमा असर पार्न सक्छ । खानपानमा सन्तुलन र सावधानी नअपनाए दसैं जस्ता चाडपर्वले उल्टै स्वास्थ्य समस्या ल्याउन सक्छ ।

    दसैं भन्नेबित्तिकै मासुका विभिन्न परिकार बनाएर खाइन्छ । पारिवारिक जमघटबीच मदिराको साथमा मासु खानु दसैंको विशेषता नै हो ।

    टीका लगाउन आफन्तकहाँ जाँदा होस् वा घरमै जमघट हुँदा विभिन्न परिकार खाने र रमाइलो गर्ने चलन छ । तर चाडपर्वको रमाइलोमा खानपानको सन्तुलन नमिल्दा स्वास्थ्यमा समस्या देखिन सक्छ ।

    विशेषगरी धेरै चिल्लो एवम् मसालेदार माछामासुसँग मदिरा सेवन गर्ने बानीले शरीरलाई उल्टै थला पार्नसक्छ । स्वास्थ्यका दृष्टिले मदिरा सेवन नगर्नु नै श्रेयस्कर हो । सेवन गर्ने बानी नै छ भने यसको मात्रा र अन्य खानपानमा ध्यान दिनु आवश्यक छ । चाडपर्वमा मासु र मदिरा सेवन सँगसँगै निम्न कुरामा ध्यान पदन सके स्वास्थ्य बिग्रन पाउने छैन ।

    मासुभन्दा सलाद र हल्का परिकार खाने

    मदिरासँगै धेरै चिल्लो, भुटेको वा नुनिलो मासु कम खाने गर्नुपर्छ । यस्तो खानपानको सट्टा सलाद, उसिनेको वा कम तेलमा पकाएको चिकेन, भटमास तथा अन्य हल्का परिकार खायो भने स्वास्थ्यमा असर पर्न दिँदैन । बदाम, ओखर जस्ता खानेकुरा पनि विकल्प हुन सक्छ । तर यस्ता खानेकुरा खाँदैमा मदिराको असर कम हुन्छ भन्ने होइन । यसले स्वास्थ्यमा पर्ने असर भने कम हुन्छ ।

    जङ्क फुड नखाने

    चाडपर्वमा मदिरासँगै चिप्स, नमकिन र अन्य प्रशोधित खानेकुरा खाँदै नखानु बुद्धिमानी हुन्छ । यस्ता खानेकुरामा नुन र बोसो बढी हुन्छ । त्यसैले यिनको सेवन सीमित गर्दै फलफूल, सलाद र कम प्रशोधित खानेकुरा खानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

    मदिराको मात्रा सीमित गर्नुस्

    मदिरा सेवन स्वास्थ्यका फाइदाजनक छैन । त्यसैले मात्रा कम हुँदा जोखिम पनि कम हुनसक्छ । सकेसम्म सेवन नगर्नु नै राम्रो हो । अरूको दबाबमा मदिरा बढी सेवन गर्नु राम्रो होइन ।

    मदिराको जोखिम व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, औषधिको प्रयोग र सेवनको मात्राअनुसार फरक पर्न सक्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । मदिरा सेवन गरेपछि सवारीसाधन चलाउने नगर्नुस् ।

    दसैं घरपरिवार र आफन्तसँग खुसी साट्ने अवसर हो । रमाइलोका नाउमा आफ्नो स्वास्थ्यलाई जोखिममा नराख्नुस् । सन्तुलित खानपान र सुरक्षित व्यवहार अपनाऔं ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images