काठमाडौं/एजेन्सी । नाइजेरियाको राजधानी अबुजामा एबोला भाइरसको सङ्क्रमण पुष्टि भएसँगै पश्चिम अफ्रिकी क्षेत्रमा पुनः महामारीको त्रास फैलिएको छ । युगान्डाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नाइजेरिया आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएपछि छिमेकी मुलुकहरू, विशेष गरी लाइबेरियामा स्वास्थ्य पूर्वतयारी र सतर्कता उच्च पारिएको छ ।
अक्टोबर २० मा नाइजेरियाको स्वास्थ्य मन्त्रालयले अबुजाको एक निजी अस्पतालमा भर्ना भएकी महिलामा एबोला सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ती बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ भने उनीसँग नजिकको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी ट्रेसिङ सुरु गरिएको छ ।
यसैगरी, केन्यामा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) बाट यात्रा गरेका बिरामीसँग जोडिएका ९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। केन्याका स्वास्थ्य अधिकारीहरूका अनुसार पहिचान गरिएका १३५ जना सम्पर्क व्यक्तिहरूमध्ये १३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । हालै पुष्टि भएका यी सङ्क्रमणहरू ‘बुन्डिबुग्यो एबोलाभाइरस’ प्रजातिको रहेको पाइएको छ ।
नाइजेरिया र केन्यामा सङ्क्रमण फैलिएपछि लाइबेरियामा यसको विशेष असर परेको छ, किनकि यो देश सन् २०१४–२०१६ को भयानक एबोला महामारीबाट नराम्ररी प्रभावित भएको थियो । उक्त महामारीमा लाइबेरियामा मात्रै ४ हजार ८०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
लाइबेरियाको राष्ट्रिय जनस्वास्थ्य संस्थान र स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि नै सीमा तथा रोबर्ट्स अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाएका छन् । स्वास्थ्य विज्ञहरूले रोबर्ट्स अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमाहरूबाट आउने यात्रुहरूको कडा जाँच तथा कन्ट्याक्ट ट्रेसिङ हुनुपर्नेमा जोड दिएका छन् ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको एबोला महामारी सन् १९७६ मा यो रोग पहिचान भएपछिकै सबैभन्दा ठूलो थियो । गिनीबाट सुरु भएको उक्त महामारी लाइबेरिया, सियरा लियोन लगायतका देशहरूमा फैलिएको थियो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सो अवधिमा २८ हजार ६०० भन्दा बढी मानिस सङ्क्रमित भएका थिए भने ११ हजार ३२५ भन्दा बढीको मृत्यु भएको थियो। लाइबेरियामा मात्रै कुल १० हजार ६७८ सङ्क्रमित र ४ हजार ८१० जनाको ज्यान गएको थियो ।
अन्तर्राष्ट्रिय आवतजावतका कारण भाइरस एक देशबाट अर्को देशमा सर्न सक्ने भएकाले समयमै द्रुत निदान, पारदर्शी सञ्चार र क्षेत्रीय समन्वय अत्यावश्यक रहेको विज्ञहरूको ठहर छ ।





















