काठमाडौं- दसैं भन्नेबित्तिकै खसी, बोका, च्याङ्ग्रा, राँगा र कुखुराको मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । परिवार तथा आफन्तसँगको जमघट, भोजभतेर र मासुका विविध परिकार दसैंको विशेषता नै बन्ने गर्छ । तर चाडपर्वको रमाइलोमा स्वादलाई मात्रै प्राथमिकता दिँदा स्वास्थ्यमा असर पर्नसक्छ ।
मासु प्रोटिन, फलाम, जस्ता र भिटामिन बी १२ जस्ता पोषक तत्त्वको स्रोत हो । तर कुन मासु खाने, कति खाने र कसरी पकाउने भन्ने कुराले यसको पोषण र स्वास्थ्यमा पर्ने प्रभाव निर्धारण हुन्छ । विशेषगरी दसैंमा एकैपटक धेरै मासु खाने गरिन्छ । त्यस्तै अत्यधिक तेल र घिउ प्रयोग गर्ने गरिन्छ । धेरै दिनसम्म लगातार मासुका परिकार मात्रै खाँदा स्वास्थ्यमा प्रभाव पर्न सक्छ ।
पोषणविद्हरूका अनुसार मासु खानु आफैँमा अस्वस्थकर होइन । यसको मात्रा, प्रकार, पकाउने तरिका र व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार खानपान मिलाउनु महत्त्वपूर्ण हुन्छ ।
दसैंमा कति मासु खाने ?
दसैंमा मासु खानै हुँदैन भन्ने होइन । मुख्य कुरा हो, आफ्नो शरीरको आवश्यकताअनुसार कति खाने र दिनभरि कस्तो खाना खाइरहेका छौँ भन्ने हो ।
सामान्य मार्गदर्शनका रूपमा स्वस्थ वयस्कका लागि एकपटकको खानामा करिब ७५ देखि १०० ग्राम पकाएको मासु उपयुक्त हुनसक्छ । उमेर, तौल, शारीरिक सक्रियता, स्वास्थ्य अवस्था र समग्र खानपानअनुसार आवश्यकता फरकफरक हुनसक्छ ।
मासु खाँदा ध्यान दिनुपर्ने केही बुँदा
– एकैपटक धेरै मासु खानुभन्दा भोक र आवश्यकताअनुसार खाने गर्नुपर्छ । मासुसँगै सागसब्जी, सलाद, दाल र गेडागुडी समावेश गर्दा स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
– धेरै दिनसम्म लगातार अत्यधिक मात्रामा रातो मासु खानु स्वास्थ्यको लागि हितकर हुन्न । मासुसँगै धेरै नुनिलो, चिल्लो र तारेका परिकार खाने बानी कम गर्नुपर्छ । साथै पानी पर्याप्त रुपमा पिउनुपर्छ । फलफूल तथा रेसायुक्त खानेकुरा भरसक धेरै मात्रामा खाँदा स्वास्थ्यमा सकारात्मक असर पर्नसक्छ ।
– मासु स्वस्थकर तरिका पकाउने गर्नुपर्छ । मासुको प्रकार जति महत्त्वपूर्ण छ, त्यसलाई पकाउने तरिका पनि उत्तिकै जरुरी हुन्छ । धेरै तेल, घिउ र बोसो प्रयोग गरेर पकाउँदा परिकारमा क्यालोरी बढ्छ ।
– मासुलाई पर्याप्त पानी वा झोल प्रयोग गरेर पकाउँदा तेलको आवश्यकता कम गर्न सकिन्छ । मासु भित्री भागसम्म राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ ।
– पकाउनुअघि देखिने अतिरिक्त बोसो हटाउन र आवश्यकभन्दा बढी तेल वा घिउ प्रयोग गर्नुहुँदैन । जस्ले गर्दा खानालाई तुलनात्मक रूपमा स्वस्थकर बनाउँछ ।
– मासु पकाउँदा मसला सन्तुलित राख्नुपर्छ । अदुवा, लसुन, जिरा, धनियाँ र बेसार जस्ता मसलाले स्वाद बढाउँछन् । तर नुनको मात्रा नियन्त्रण गर्नु आवश्यक छ ।
– मासु धेरै डढाएर वा भुटेर खानु हुँदैन । मासुलाई आगोमा लामो समयसम्म डढाउनु हुन्न । कालो हुने गरी सेक्ने वा अत्यधिक तापक्रममा पटक पटक तारेर खानु हुन्न ।
– कलेजो र अन्य भित्री अङ्गका परिकार खाँदा विशेष ध्यान दिनुपर्छ । दसैंमा खसीबोकाको मासुसँगै कलेजो, फोक्सो, मुटु, मिर्गौला र आन्द्रा जस्ता भित्री अङ्गका परिकार पनि खाने गरिन्छ । यस्ता अङ्गमा केही पोषक तत्त्व प्रशस्त पाइए पनि तिनको मात्रा र प्रकार फरक हुन्छ ।
– विशेषगरी कलेजोमा फलाम र भिटामिन ए प्रशस्त हुन्छ । तर यसलाई नियमित रूपमा धेरै मात्रामा खाँदा भिटामिन ए अत्यधिक प्राप्त हुनु राम्रो मानिँदैन । मिर्गौला रोग वा अन्य दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिले भित्री अङ्गका परिकार खानुअघि चिकित्सकको सल्लाह लिएर मात्र खानु राम्रो हुन्छ । स्वस्थ व्यक्तिले पनि यस्ता परिकार अत्यधिक मात्रामा खानुभन्दा सन्तुलित रूपमा सेवन गर्नु राम्रो हो ।
– मासु पकाउँदामात्रै होइन भण्डारण गर्दा पनि सावधानी अपनाउनुपर्छ । दसैंमा एकैपटक धेरै मासु किन्ने र पकाउने चलन हुन्छ । यस्तो अवस्थामा खाद्य सुरक्षामा ध्यान दिनु आवश्यक छ ।
– काँचो मासु किन्नुअघि त्यसको ताजापन, गन्ध र स्वच्छता जाँच गर्ने गर्नुपर्छ । काँचो मासु काट्ने चक्कु र पाटीलाई पकाएको खाना वा सलाद तयार गर्न प्रयोग गर्नुअघि राम्ररी सफा गर्ने गर्नुस् । सम्भव भए काँचो र पकाएको खानेकुराका लागि छुट्टाछुट्टै सामग्री प्रयोग राम्रो हुन्छ ।
– पकाएको मासु कोठाको तापक्रममा लामो समयसम्म राख्नु हुँदैन । सामान्यतया पकाएको खाना दुई घण्टाभन्दा बढी बाहिर नराखी फ्रिजमा राख्नु उपयुक्त हुन्छ । धेरै गर्मी भएको अवस्थामा अझ छिटो चिस्याउनुपर्छ । फ्रिजमा राखेको बाँकी मासु पुनः खाँदा राम्ररी तताएर खाने गर्नुपर्छ ।
– मासुको रूप र गन्ध सामान्य लाग्दैमा त्यसमा हानिकारक जीवाणु छैनन् भन्न सकिन्न । त्यस्तो खानेकुरा खाँदा ध्यान दिएर खाने र सफाइ, उचित तापक्रम र सुरक्षित भण्डारणमा ध्यान दिन आवश्यक हुन्छ ।
तस्विर : एआई























