काठमाडौं– लगातारको दसैंको रमझमले वाक्कदिक्क लाग्यो ? हुन पनि बिहान उठ्यो, माछामासुका परिकार खायो, आफन्तसँग गफगाफ ग¥यो, मोबाइल हेरेर दिन बिताउने सधैंको एउटै दिनचर्याले वाक्कदिक्क नहोस् पनि किन ? नेपालीमा उखानै छ नि- ‘चिनी धेरै खायो भने तीतो हुन्छ ।’
अहिले धेरैलाई दसैंमा यस्तै बोर भइरहेको हुनसक्छ । त्यसैले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याएर पुनर्ताजगी महसुस गर्न सकिन्छ । जसले रमाइलो पनि हुन्छ, शरीर पनि तन्दुरुस्त रहन्छ ।
फेरि अहिले स्वस्थ रहन जिम धाउनैपर्छ वा घण्टौँ पसिना बगाउनैपर्छ भन्ने प्रवृत्ति बाक्लिएको छ । जसले एकातिर पैसा र समय नाश त गरिरहेको हुन्छ नै, अर्कोतिर त्यसलाई निरन्तरता नदिँदा उल्टै शरीर र स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको देखिन्छ ।
तर घरमै बसेर सामान्य व्यायाम गर्ने, बिहान-साँझ हिँड्ने, नाचगान गर्ने र खानपानमा सन्तुलन मिलाउने हो भने दसैँ रमाइलो र सक्रिय दुवै बनाउन सकिन्छ । शरीरलाई तरोताजा र तन्दुरुस्त राख्ने यी उपायहरु अपनाउनुस्-
बिहानै २०-३० मिनेट हिँड्नुस्
दसैंको बिदामा बिहान ढिलोसम्म सुत्ने र उठेपछि फेरि खानपानमै व्यस्त हुने बानी सुधार्नुस् । बिहानको समय हिँडडुलका लागि छुट्याउनुस् । आफ्नो क्षमताअनुसार २०-३० मिनेट छिटोछिटो हिँड्दा शरीर सक्रिय राख्न र मुटुको स्वास्थ्यमा सहयोग पुग्छ । खाना तथा खाजा खाएपछि सहज गतिमा केही समय हिँड्दा पाचनमा सहयोग पुग्नसक्छ ।
घरमै योग वा व्यायाम गर्नुस्
दसैंमा घरमै केही समय निकालेर शरीरलाई सक्रिय राख्न सकिन्छ । योग वा हल्का व्यायामबाट दिनको सुरुवात गर्न सकिन्छ । बिहान १०-१५ मिनेटको योग वा व्यायामले शरीरको लचकता र गतिशीलतामात्रै कायम हुँदैन, दिनभरि नै ताजगी महसुस गर्न सकिन्छ ।
मोबाइलबाट टाढा बस्नुस्
दसैंमा तास खेल्नु, मोबाइल चलाउनु र टेलिभिजन हेर्नु सामान्य मानिन्छ । तर दिनभरि यिनै गतिविधिमा सीमित हुँदा शरीर निष्क्रिय रहनसक्छ । त्यसैले यस्ता शारीरिक निष्क्रियताको गतिविधिबाट टाढिएर केही समय नाचगानमा रमाउन सकिन्छ । परिवारका सदस्यसँग नाचगान गर्ने, साथीभाइसँग खेलकुदमा सहभागी हुने वा बालबालिकासँग बाहिर खेल्ने गर्दा मनोरञ्जनसँगै शारीरिक गतिविधि पनि बढ्छ ।
शरीरलाई चलायमान बनाउनुस्
लामो समय एउटै ठाउँमा बसिरहनु शारीरिक स्वास्थ्यको लागि राम्रो बानी होइन । हरेक ३०-६० मिनेटमा उठेर केही समय हिँड्नुस्, शरीर तन्काउनुस् वा घरायसी काममा सहभागी हुनुस् । खाना पकाउन सघाउने, घर सफा गर्ने र पूजाको तयारीमा हातेमालो गर्ने कामले पनि दैनिक रुपमा शारीरिक गतिविधि बढाउँछ ।
यसरी दिनभरि सक्रिय रहने बानीले शारीरिक तन्दुरुस्ती महसुस गर्न सकिन्छ । त्यसैले दसैंको फुर्सदलाई शरीर चलायमान बनाउने अवसर पनि बनाउनुस् ।
धेरै मासु र मिठाई नखानुस्
दसैँमा मासु, सेलरोटी, मिठाई र अन्य परिकार अरु दिनभन्दा बढी नै खाइन्छ । तर मनपर्ने खानेकुरा भन्दैमा एकैपटक धेरै खाने वा पटकपटक खाइरहने बानीले पाचनमा समस्या निम्त्याउन सक्छ ।
खानेकुरामा मासुसँगै सागसब्जी, सलाद र फलफूल पनि समावेश गर्नुस् । चिल्लो, गुलियो र धेरै नुन भएका खानेकुराको मात्रा सीमित राख्नुस् । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त पानी पिउनुस् ।
स्वस्थ रहन खानपान र शारीरिक गतिविधि दुवैमा उत्तिकै ध्यान दिनुपर्छ । मदिरा सेवन नगर्नु स्वास्थ्यका लागि सुरक्षित विकल्प हो।
निद्रा पनि पूरा गर्नुस्
दसैंको रमाइलोमा रातिसम्म तास खेल्ने, टेलिभिजन हेर्ने वा आफन्तसँग गफिने गर्दा सुत्ने समय बिग्रन सक्छ । निद्रा पूरा नहुँदा भोलिपल्ट शरीर थकित र सुस्त महसुस हुनसक्छ ।
वयस्क व्यक्तिले सामान्यतया दैनिक ७-९ घण्टा सुत्नु उपयुक्त हुन्छ । सम्भव भएसम्म नियमित समयमा सुत्ने र उठ्ने बानी कायम राख्नुस् ।
पर्याप्त निद्रा, सन्तुलित खानपान र नियमित शारीरिक गतिविधिले दिनचर्या स्वस्थ र क्रियाशील हुनसक्छ । त्यसैले दसैं भनेर आफ्ना् नियमित निद्रालाई बेवास्ता नगर्नुस् ।






















