images
images
  • हुम्ला र मुगुमा इन्टरनेट र टेलिफोन सेवा ठप्प

    हुम्ला- मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

    नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।

    दसैं बिदामा कर्मचारी घर गएकाले दसैंपछि मात्रै मर्मत गर्न सकिने उनले बताए ।

    गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ ।

    टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

    अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताए ।

    सञ्चार सेवा अवरुद्ध हुँदा दसैंमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उनले गुनासो गरे ।

    भौगोलिक विकटताका कारण अन्य सञ्चारमाध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images