मुस्ताङ- गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१.५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना मात्रै स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । जबकि गतवर्षको साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोज महिनामा ७५ हजार ५९९ जना पर्यटक मुस्ताङ आएका थिए ।
गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, असोजको ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेका हुन् । गत असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आंशिक पर्यटक मात्रै पोखरा-जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आएका उनले बताए ।
यसअघि भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडकको दर्जनौं स्थानमा सडक क्षतिग्रस्त भएको थियो । कोरला सडक आयोजनाले बेनी-जोमसोम सडक मर्मत सुधार गरी सडक सञ्चालनमा ल्याइएको पनि हाल उक्त सडक अझै पूर्ण रुपमा सहज भइसकेको छैन ।
प्राकृतिक विपत्तिका कारण पर्यटकको संख्यामा सुधार हुन नसकेको मुक्तिनाथ होटल एसोसियसनका अध्यक्ष सुरज गुरुङले बताए । प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसान जस्तै रहेको उनको भनाइ छ ।






















