images
images
  • मुस्ताङ भन्सारले तीन महिनामै उठायो ८ अर्ब ३२ करोड राजस्व

    काठमाडौं – मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनाभन्दा कम अवधिमै ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज २७ गतेसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

    नेपाल–चीन उत्तरी कोरलानाकाअन्तर्गत लोमान्थाङ गाउँपालिका–४, न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । कार्यालय प्रमुख विदुर चुडालका अनुसार निर्धारित लक्ष्यको ९३.५३ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ।

    लक्ष्य पूरा गर्न अब ६७ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न बाँकी छ । आर्थिक वर्षको सुरुआती तीन महिनामै लक्ष्यको ठूलो हिस्सा हासिल भएपछि कार्यालयले वार्षिक लक्ष्य पूरा गर्ने अपेक्षा गरेको छ ।

    मुस्ताङ भन्सारबाट राजस्व सङ्कलन उल्लेख्य बढ्नुको प्रमुख कारण तातोपानी र रसुवागढी नाका बन्द हुनु रहेको बताइएको छ । ती नाकाबाट हुने आयात–निर्यात प्रभावित भएपछि कोरलानाका वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग हुन थालेको हो ।

    भन्सार विभागका अनुसार साउनदेखि असोज २७ गतेसम्म मुस्ताङ नाकाबाट १९ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरका मालवस्तु नेपालमा आयात भएका छन् । यसै अवधिमा नेपालबाट चीनतर्फ ३७ लाख ७८ हजार रुपैयाँ बराबरका मालवस्तु निर्यात भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images