काठमाडौं – उत्तर कोरियाले आफ्नो पूर्वी तट नजिकको समुद्रमा पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र उत्तर कोरियाबीच सैन्य तनाव बढिरहेका बेला गरिएको यो परीक्षणलाई प्योङयाङले आफ्नो युद्ध प्रतिरोध क्षमता र नौसैनिक रणनीतिक दक्षता अभिवृद्धि गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार परीक्षणको उद्देश्य रणनीतिक हतियारको विश्वसनीयता जाँच गर्नु र नौसेनाको रणनीतिक सैन्य अभियान सञ्चालन गर्ने क्षमता सुधार गर्नु हो । परीक्षण गरिएका मिसाइलमध्ये एउटा ‘पुलह्वासल–३–३१’ रहेको जनाइएको छ । उत्तर कोरियाले गत साता जमिनबाट परीक्षण गरेको रणनीतिक क्रुज मिसाइल पनि यही प्रकारको भएको केसीएनएले जनाएको छ ।
पूर्वी तट नजिक समुद्रमा गरिएको परीक्षणको अवलोकन वरिष्ठ सैन्य अधिकारीहरूले गरेका थिए । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले परीक्षणबाट छिमेकी राष्ट्रहरूको सुरक्षामा प्रतिकूल असर नपरेको दाबी गरेको छ । यद्यपि, परीक्षणको प्राविधिक विवरण र मिसाइलको वास्तविक क्षमताबारे स्वतन्त्र रूपमा पुष्टि भएका जानकारी सीमित छन् ।
आणविक पनडुब्बी निर्माण किमको प्राथमिकतामा
उत्तर कोरियाले पनडुब्बीबाट मिसाइल प्रहार गर्न सक्ने सैन्य क्षमता विकासलाई प्राथमिकता दिँदै आएको छ। नेता किम जोङ उनकै निगरानीमा रणनीतिक ब्यालिस्टिक र क्रुज मिसाइल कार्यक्रम अघि बढाइएको छ । तर, उत्तर कोरियाले आधुनिक मिसाइल पनडुब्बीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेको अवस्था स्पष्ट छैन ।
गत वर्ष पनडुब्बी निर्माण केन्द्रको निरीक्षणका क्रममा किमले अमेरिका र दक्षिण कोरियाबीच भएको आणविक पनडुब्बीसम्बन्धी सहकार्यको आलोचना गरेका थिए । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा करिब ८ हजार ७०० टन क्षमताको आणविक ऊर्जाबाट चल्ने मिसाइल पनडुब्बी निर्माण भइरहेको देखाइएको थियो । किमले उक्त सहकार्यलाई कोरियाली प्रायद्वीपको स्थिरताका लागि खतरा भएको टिप्पणी गरेका थिए ।























