काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार थप एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको छ । यसले सुन खरिद गर्ने तयारीमा रहेका उपभोक्तालाई केही राहत दिन सक्ने देखिएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।























